हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। यस्तै शुक्रबार नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथिकोे सुनुवाइ नसकिएपछि मुद्दा जेठ २७ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ।
सरकारले सबै अस्पताललाई २० प्रतिशत शैया कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पताललाई बालबालिकाको लागि २० प्रतिशत शैया छुट्याउन निर्देशन दिएको हो। नेपालमा हाल दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको छ भने, तेस्रो र चौथो लहरको पनि त्रास बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घन्टामा ६ हजार ६ सय बढीमा संक्रमण पुुष्टि भएको छ भने, ८ हजार बढीले कोरोना जितेका छन्।
आज नेपालमा छुवाछुतविरुद्धको राष्ट्रिय दिवस विभिन्न भर्चुअल छलफल र अनौपचारिकरुप कार्यक्रम गरि सम्पन्न भएको छ। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत मानव सभ्यताको कलंक भएको बताएका छन् । उनले छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याइरहेको तथा त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने प्रतिवद्धतासमेत जनाएका छन्।
निषेधाज्ञाले गर्दा उद्योग व्यापार व्यवसाय तथा निर्माण व्यवसायसमेत बन्द रहेका छन्। तर, यस्तो अवधीमा पनि बैंकहरुको कर्जा लगानी भने लगातार बढ्दो क्रममा रहेको छ। जेठ लागेपछि मात्रै बैंकहरुको कर्जा लगानी १५ अर्ब बढी रहेको बैंकर्स संघले जनाएको छ भने, निषेधाज्ञाकै बीचमा पनि औसतमा १ अर्ब बढी कर्जा लगानी भएको संघको तथ्यांकले देखाएको छ।
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्ने बारेमा अहिलेसम्म बैज्ञानिकहरू नै अलमलमा परेका छन्। चीनको उहानबाट भाइरस संक्रमण पुष्टि भएपनि यो त्यही उत्पत्ति भयो वा अरु ठाउँमा यो डेढवर्षदेखि खोजीको विषय बनेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरस उत्पत्तिबारे नयाँ अनुसन्धान गर्न निर्देशन दिएसँगै भाइरसको उत्पत्तिबारे विवाद पुनः सतहमा आएको हो। तर, चीनले भने, यसलाई राजनीतिकरण नगरी जासुसी संस्थाको अनुसन्धानभन्दा वैज्ञानिकहरूको ऐक्यबद्धता र सहकार्य दर्शाउने अनुसन्धानको पक्षमा रहेको पनि प्रष्ट पारेको छ।
प्रकाशित: २१ जेष्ठ २०७८ १९:४८ शुक्रबार