भरतपुर ।
कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ ।आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।वक्तृत्वकलाको विषय आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिका राखिएको छ ।खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् ।कपुरबोट मिडिया प्रालिका अध्यक्ष देउजाका अनुसार प्रथम पुरस्कार नगद रु. १ लाख, द्वितिय पुरस्कार रु. ५० हजार, तृतीय पुरस्कार रु. २५ हजार र सान्तवना पुरस्कार रु. १० हजार प्रदान गरिनेछ ।भाद्र १५ गतेसम्म भिडियो पठाईसक्नुपर्नेछ ।यो प्रतिस्पर्धामा सहभागी हुनका लागि विभिन्न सर्तहरु राखिएको छ ।उज्यालो स्थानमा माईकको प्रयोग अनिर्वाय र स्पष्ट देखिने भिडियो हुनुपर्नेछ ।भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ ।विषयबस्तु केन्द्रित तथ्य परक हुनुपर्नेछ, गलत तथ्य तथ्यांक प्रयोग गर्न पाईने छैन ।
भिडियोको गुणस्तर, भ्युज, विषयबस्तु र प्रस्तुतिका आधारमा मुल्यांकन गरिनेछ । यस प्रतियोगिताको निर्णायकमा वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारी, पर्यटनविज्ञ डा. विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहनुभएको छ ।भिडियोमा आएको समर्थन मतसँगै विषयबस्तु र उत्कृष्ट प्रस्तुति प्राथमिकतामा रहनेछन् ।जसको मुल्याकंन निर्णायकहरुले गर्ने देउजाले बताउनुभयो ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वाक कला भएका संसारभरका क्षमतावानलाई रु १ लाखसम्म जित्ने यो सुवर्ण अवसर हो ।”यी यस्ता विषयमा सञ्चारमाध्यमले आफ्नो प्लेटर्फममा बहस गरिरहेकै छन् ।तर नागरिक स्तरमा जनप्रतिनिधिलाई हेर्ने र कामको मुल्याकंन गर्ने दृष्टिकोण जान्नका लागि पनि यो प्रतियोगीता फलदायी हुने देउजाले बताउनुभयो ।भरतपुरको विकास र समृद्धिका लागि सबैले आआफ्नो स्थानबाट योगदान गरेको बताउँदै उहाँले रेनु दाहाल मेयर भएर आएपछिका निर्माण र जनतामा देखिएको विकासको अनुभुति स्पष्ट देखाउन खोजिएको उहाँको भनाई छ ।तर यो प्रतियोगीतामा भरतपुर महानगरको सद्भाव बाहेक कुनै आर्थिक सहयोग प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवं प्रतियोगिताका निर्णायक प्रकाशमणि ज्ञवालीले कालोपत्रे पुर्वाधार निर्माण मात्रै होइन भरतपुरको समृद्धिसँग यहाँको नेतृत्वलाई मुल्यांकन गर्नुपर्ने बताउनुभयो ।यहाँको कालोपत्रे सडक मात्रै होइन, हरियाली, सरसफाई, फोहर व्यवस्थापन, नदि नियन्त्रण, कृषि र शिक्षामा आएका परिवर्तन पनि भरतपुर निर्माणको आधार भएको ज्ञवालीको तर्क थियो ।सम्मेलनमा अग्रज पत्रकार बसन्त पराजुली, बविलाल तामाङ, कोमल भगत, सन्तकुमार चौधरी, राजु चौधरी, सुर्य अधिकारी लगायत चितवन नवलपुरका पत्रकारहरु उपस्थित थिए ।