काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ।भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले आज एक समारोहका बीच उक्त विद्यालय भवनको संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।
भारत सरकारको आर्थिक सहयोग अन्तर्गत करिब रू १ करोड ९० लाख को लागतमा भवन निर्माण गर्न लागिएको हो।उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण हुन लागेको यो परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुनेछ ।कञ्चनपुर जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको यो ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाका उपप्रमुख जोशी तथा अन्य सरोकारवालाहरूले भारत सरकारले नेपालको विकासका लागि गर्दै आएको सहयोगको प्रशंसा गर्नुभयो ।नयाँ बन्ने आधुनिक पूर्वाधारले विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त एवं सहज सिकाइ वातावरण सिर्जना गर्न ठूलो मद्दत पुग्ने विश्वास उहाँहरूले व्यक्त गर्नुभयो ।
नजिकको छिमेकी मुलुकको नाताले भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार निर्माण गरी नेपाल सरकारको समृद्धि र विकासको प्रयासमा सहयोग पुर्याउन यस्ता परियोजनाहरू सञ्चालन भइरहेको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।