पोखरा, असार ७ ।
१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पर्यटकीय नगरी पोखरामा भव्य योग प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावास (Embassy of India, Kathmandu) को आयोजनामा पोखराको विश्वप्रसिद्ध एवं रमणीय फेवातालको किनारमा आज विशेष योग सत्रको आयोजना गरिएको हो ।’स्वस्थ शरीर र शान्त मनका लागि योग’ भन्ने मूल मर्मका साथ आयोजित उक्त कार्यक्रममा नेपाल र भारतका उच्च अधिकारीसहित ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्य अतिथिको रूपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको विशेष उपस्थिति रहेको थियो ।
फेवाताल र माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमिमा आयोजना गरिएको यो योग प्रदर्शनमा सहभागीहरूले विभिन्न आसन, प्राणायाम र ध्यानका विधिहरू अभ्यास गरेका थिए । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मानव जीवनमा योगको महत्वमाथि प्रकाश पार्नुभयो । उहाँले योगले मानिसलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा शान्त राख्न मद्दत गर्ने बताउँदै नेपाल र भारतबीचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्धलाई यस्ता कार्यक्रमले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, भारतीय राजदूत नवीन श्रीवास्तवले योग विश्वलाई जोडने एक कडी भएको उल्लेख गर्दै पोखरा जस्तो प्रकृतिको काखमा योग अभ्यास गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले योगको माध्यमबाट दुई देशका नागरिकस्तरको सम्बन्ध अझ प्रगाढ हुने धारणा राख्नुभयो ।
कार्यक्रममा पोखराका स्थानीय समुदाय, विभिन्न योग संस्थाका प्रतिनिधिहरू, भारतीय सेनाका भूतपूर्व सैनिकहरूका साथै पोखरास्थित भारतीय दूतावासको पेन्सन भुक्तानी कार्यालयका अधिकारी एवं कर्मचारी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो ।प्राकृतिक रूपमा शान्त र सुन्दर वातावरणमा सम्पन्न भएको यस योग प्रदर्शनले पोखराको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन् । कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरूलाई योगलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरिएको थियो ।