भरतपुर महानगरपालिका–१४ अन्तर्गत राधापुर युथ क्लबको आयोजनामा तेस्रो संस्करणको खुला ७ ए–साइड फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। “लागुऔषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको प्रतियोगिताले युवालाई खेलकुदमार्फत सकारात्मक मार्गतर्फ प्रेरित गर्दै नयाँ प्रतिभाको खोजी र उत्पादनमा सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।प्रतियोगिताको विजेता टोलीलाई रु. ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उपविजेता टोलीले रु. ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ। आकर्षक पुरस्कार राशिका कारण प्रतियोगितामा विभिन्न जिल्लाका प्रतिस्पर्धी टोलीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि टिम दर्ता शुल्क रु. ४ हजार निर्धारण गरिएको छ। साथै अग्रिम दर्ता अनिवार्य गरिएको छ, जसका लागि रु. १ हजार अग्रिम शुल्क बुझाउनुपर्नेछ। आयोजकका अनुसार टोली दर्ताको अन्तिम मिति २०८३ साल असार १४ गते तोकिएको छ भने प्रतियोगिता असार १५ गतेदेखि सुरु हुनेछ।खेलहरू राधापुर युथ क्लबको खेल मैदानमा सञ्चालन हुनेछन्। प्रतियोगिताले स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेल संस्कृतिको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रमको आयोजना राधापुर युथ क्लबले गरेको हो भने भरतपुर महानगरपालिका वडा नं. १४ को सहयोग रहने उल्लेख गरिएको छ। प्रतियोगिताका संयोजक स्वस्तिक शर्मा, अध्यक्ष सबिन बि.के. तथा सहसंयोजक आयुष अधिकारी रहेका छन्। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९७०४३१५२५२ नम्बरमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ।आयोजकले स्वस्थ जीवनशैली अपनाउन, लागुऔषध दुर्व्यसनबाट टाढा रहन र खेलकुदको विकासमा सबैले हातेमालो गर्न पनि अपिल गरेको छ। स्थानीय स्तरमा खेल गतिविधिलाई निरन्तरता दिँदै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस प्रतियोगिताले चितवनसहित आसपासका क्षेत्रका फुटबलप्रेमी र खेलाडीबीच उत्साह थप्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको Broadcast Media Partner का रूपमा Mero Game रहेको जानकारी पनि प्रचार सामग्रीमा उल्लेख गरिएको छ।