भरतपुर ।
शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चुनाव पुनः स्थगित भएको छ ।आगामी साउन २६ गतेलाई तय भएको अधिवेशन विवादका कारण रोकिएको हो ।अन्तिम तयारी गर्न भन्दै बसेको बैठकमै हुलहुज्जत गरिएको आरोप लगाउदै अधिवेशन स्थगित गर्नुपरेको वर्तमान समितिले बताएको छ ।
तर मुख्य ३ दल (कांग्रेस, एमाले र माओवादी) विरुद्ध स्वतन्त्र प्यानल समेत अधिवेशनमा सहभागी हुने भएपछि पराजित हुने आशंकासहित असार ८ गते बोलाईएको अधिवेशन गणपुरक संख्या नपुगेको भन्दै स्थगित गरिएको स्वतन्त्र समुहको आरोप छ ।असारको अन्तिममा गर्ने भनिएको अधिवेशन साउन २६ गतेका लागि तय भएको थियो ।दलिय उमेद्वार नरुचाएका कारण विवाद बढेको उनीहरुको भनाई छ ।
दलिय आधारमा कोठामा बसेर प्यानल घोषणा गरेपछि असन्तुष्ट उपभोक्ताहरुले आफ्नो छुट्टै स्वतन्त्र प्यानल बनाएका थिए ।कांग्रेस, एमाले र माओवादीसहितको गठबन्धनबाट निर्वतमान वडाध्यक्ष ओमप्रकाश पोख्रेलको नेतृत्वमा उपाध्यक्ष माओवादी केन्द्रका बाबुराम दाहाल, सचिवमा एमालेका तोयानाथ अर्याल कोषाध्यक्ष इन्द्रकुमारी गुरुङसँगै सदस्यहरुको समेत भागबण्डा भएको थियो ।स्वतन्त्र समुहबाट शिव प्रसाद चापागाईको नेतृत्वमा उपाध्यक्ष कालिदास ढकाल, सचिवमा समिर खत्री केसी कोषाध्यक्ष लक्ष्मी पाण्डेसहितको असन्तुष्ट प्यानल थियो ।
गठबन्धन आफ्नै उमेदवार सर्वसम्मत होस् भन्ने चाहन्थ्यो, स्वतन्त्रले चुनावी प्रचारलाई तिब्रता दिएको थियो ।यसअधि दलीय आधारमा चलेका संघसंस्था धरासयी भएको भन्दै गठबन्धन विरोधी आवाज बलियो हुदैं गयो ।स्वतन्त्र समुहलाई ३ दलिय गठबन्धनकै केहि प्रभावशाली व्यक्तिहरुको समेत साथ छ ।स्वतन्त्रहरुले गठबन्धन विरोधी प्रचारलाई बढाउदैं लगेपछि निवर्तमान वडाध्यक्षसहितको प्यानल डराएको समितिकै सदस्य प्रकाश चापागाईले बताएका छन् ।एकलौटी ढंगबाट माइन्युट बनाएर हस्ताक्षर गर्न लगाएपछि कार्यसमिति बैठक समेत बिथोलिएको उनले बताएका छन् ।पटकपटक अधिवेशन सारिएपछि असन्तुष्ट समुहले शनिबार पत्रकार सम्मेलनको आब्हान गर्दैछ । २०७१ सालमा स्थापना भएको खानेपानी उपभोक्ता समितिका साविक शिवनगर गाविसका हाल भरतपुर १४ र १५ का १३ सय बढि स्थानिय ग्राहक छन् ।उनीहरु नै अधिवेशनका मतदाता हुन् ।सो क्षेत्र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहक्षेत्र हो ।