चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । उनकी दिदी भगवती तामाङले मंगलबार रविनको निधन भएको बताएकी छन् ।
भगवतीका अनुसार गायक रविनको निधन बुढानिलकण्ठस्थित उनकै घरमा भएको हो । तामाङ घरको कोठाभित्र मृत अवस्थामा भेटिएका थिए ।
उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एण्ड द न्यू रेभोलुसन’ ब्याण्डका भोकलिस्ट पनि हुन् ।
लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी सन् १९९६ मा नेपाल आएका थिए ।
उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । गायक तामाङले छड्के, मुखौटा, जय परशुराम, चिसो एस्ट्रे लगायत एक दर्जन भन्दा धेरै चलचीत्रमा समेत अभिनय गरेका छन् ।