एडिलेड, अष्ट्रेलिया । चितवन घर भई हाल दक्षिण अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूको साझा संस्था चितवन समाज साउथ अष्ट्रेलिया (CSSA) द्वारा आयोजित “नयाँ वर्ष विशेष शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम” भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।शनिबार एडिलेडस्थित Ascot Park को Active Elders Association हलमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा नेपाली भाषा, कला, संस्कृति तथा मौलिक पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो। विशेषगरी प्रवासमा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूका लागि नेपाली परिकारसहितको आतिथ्य तथा निःशुल्क खाजाको व्यवस्था गरिएको थियो।यसै अवसरमा चितवन समाजद्वारा प्रकाशन गरिएको नयाँ भित्तेपात्रोको औपचारिक विमोचन गरिएको थियो। साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, चितवन समाज साउथ अष्ट्रेलियाका अध्यक्ष कौशल उप्रेती तथा एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले संयुक्त रूपमा भित्तेपात्रो सार्वजनिक गरेका थिए। विमोचित पात्रोमा नेपाली चाडपर्व, तिथि तथा सांस्कृतिक विशेषता समेटिएको छ। प्रवासमा रहेका नेपालीहरूलाई आफ्नोपनको अनुभूति दिलाउने उद्देश्यले पात्रो निःशुल्क वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले प्रवासमा नेपाली भाषा, कला र संस्कृतिको संरक्षणका लागि चितवन समाजले खेलेको भूमिकाको प्रशंसा गरिन्। उनले यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउने बताउँदै नयाँ वर्ष २०८३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गरिन्।त्यसैगरी अतिथि एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडी, फेन्का साउथ अष्ट्रेलियाका संयोजक पुष्कर कोइराला तथा एनेक्स रियलस्टेटका डाइरेक्टर एवं संस्थाका सल्लाहकार नवीन कँडेलले संस्थाको आगामी यात्राको सफलताको शुभकामना व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली समुदायमा शुभकामना दिएका थिए।कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य प्रतीक्षा पोखरेलले राखेकी थिइन्। उनले प्रवासमा पनि नेपाली भाषा, संस्कृतिको संरक्षण र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। साथै कार्यक्रम सञ्चालन श्रीजा कँडेलले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कौशल उप्रेतीले प्रवासमा रहेर पनि नेपाली पहिचान, भाषा र संस्कृतिलाई जीवित राख्नु सबै नेपालीको साझा दायित्व भएको बताए। उनले चितवन समाज साउथ अष्ट्रेलियाले समुदायलाई एकताबद्ध बनाउने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।कार्यक्रमको विशेष आकर्षणका रूपमा एडिलेड नेपाली भजन किर्तन समूहले भक्तिमय भजन प्रस्तुति दिएको थियो। भजन प्रस्तुतिले कार्यक्रममा आध्यात्मिक र सांस्कृतिक वातावरण थप आकर्षक बनेको सहभागीहरूले बताएका छन्।समग्रमा, एडिलेडमा सम्पन्न यो कार्यक्रम नेपाली समुदायबीच आपसी सम्बन्ध थप मजबुत बनाउने, सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्ने तथा नयाँ वर्षलाई उल्लासपूर्ण रूपमा मनाउने महत्वपूर्ण अवसरका रूपमा सफल बनेको आयोजकले जनाएको छ।