प्रदीप पाण्डे उर्फ प्रदीप रोदन सामाजिक सञ्जालका सेलिब्रेटी हुन् । उनी टिकटकर होइनन्, चर्चित गजलकार हुन् । उनका गजलका शेरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल छन् । गजलको गुन्द्री बिछ्याउने रोदनको कला मन छुने छ । गोर्खा पालुङटार–९ धुँवाकोट जन्मेका प्रदीप गोर्खामै बस्छन् ।
बा हेर्नुस् त ! ‘खाना पाइन्छ’ लेखिएको छ त्यहाँ
थाहा छ बाबू ! ‘सित्तैमा पाइन्छ’ लेखिएको छैन ।
प्रदीप झण्डै एक दशकयता गजल विधामा कलम चलाइरहेका छन् । उनी रेडियोकर्मी थिए । जीवनका आरोह–अवरोहका घटना समेटेर गीति कथा तनहुँको रेडियो मेरो साथी एफएफमा सुनाउँथे । स्रोताका वेदनामा रुदारुदै उनले नामनै रोदन राखेका थिए । झण्डै ७ वर्ष रेडियोमा काम गरे । पछि उनी गजलको घरभित्र पस्न खोजे । गजलबारे अध्ययन थाले । कोर्न थाले ।
उनी २०७० चैतदेखि बल्ल चर्चामा आउन थालेका थिए । गजल मञ्च चितवनले भव्य कार्यक्रम गरेर प्रदीप रोदनका गजल शिल्पहरु बाहिर ल्यायो । काठ्काण्डाको गजल मेहफिलमा पनि पुगे । नेपाल लिटरेचर फेस्ष्टिबलमा पनि पुगे । एकाएक प्रदीप चर्चामा आए । प्रदीप १९ वर्षयता गोर्खाको माध्यामिक विद्यालयमा पढाइरहेका छन् । विद्यार्थीहरुलाई हिसाब सिकाइरहेका प्रदीप गजलको हिसाब गर्न पनि सिपालु बनिसकेका छन् ।
डाक्टर सा’ब म चामल बेचेर जचाउन आएको हुँ
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनोस् !
प्रदीप रोदनका शेरहरु चोटिला हुन्छन्, मनमै गढ्ने खालका । उनले मफलर गजलसंग्रह बजारमा ल्याएका छन् । गजलविधाका कृतिहरुमध्ये मफलर धेरै बिक्रिहुने कृतिका रुपमा चिनिएको छ । उनको पहिलो एकल कृति हो मफलर । मफलरमा १ सय ८ वटा गजल, १ सय ८ वटा फर्दहरु समावेश छन् । फर्द भन्नाले छोटा गजलहरु हुन् । गजलमा रदिफ र काफियाहरु हुन्छन् । तर, धेरै गजलकारहरुले रदिफ विनानै गजल लेख्न थालेका छन् ।
गजल गाउने, गुनगुनाउने विधा हो । गजलमा छन्द हुन्छन् भन्ने मान्यता छ । तर, प्रदीप स्वतन्त्र गजलमा बढी रुचि राख्छन् । कविता, कथा, उपन्यासका सारहरुलाई दुई लाइनको शेरमा अभिव्यक्त गर्न माहिर छन् । मीठो शब्दशिल्प छ उनीमा । उनी गजल विधाको विवादमा पर्न चाहन्नन् । उनी भन्छन्– स्रष्टा हुँ, लेखिरहन्छु । गजल लेख्न छोड्दिन ।
यो दुनियाँ उचाई चुम्न चाहन्छ र दुर निस्कन्छ ।
म हाम्रोनियम हुँ, मलाई त दबाएपछि सुर निस्किन्छ ।
नाम रोदन राखेपनि प्रदीप धेरै रुदैनन् । बरु गजल सुनाएर धेरैलाई भावुक बनाउँछन् । नेपालमा गजलकारहरु थुप्रै छन् । तर, प्रदीप रोदनको लोकप्रियता उचाईमा छ । पाठकका मनहरुलाई शीतल पार्न उनका गजलका शेरहरु सारथी बन्दै आएका छन् । टिकटकमा उनका शेरहरुमा लिप्सिङ, अभिनय गर्नेहरु धेरै छन् । मफलर प्रकाशक कम्पनी फाइनप्रिन्टले पहिलो पटक गजल विधा प्रकाशन गरेको थियो । कारण एउटै छ– प्रदीप रोदनका चोटिला गजलहरु ।
प्रदीपले थुप्रै अवार्डहरु पनि पाएका छन् । २०७३ मा बहरबहार संस्थाद्वारा ‘लोकप्रिय गजलकार अवार्ड’, २०७५ मा गोर्खाको युवा समितिद्वारा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र २०७९ मा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको समूहद्वारा ‘साताको साहित्य पुरस्कार’ दिएको थियो । प्रदीपका सामूहिक कृतिहरु १ दर्जन बढी छन् । जब प्रदीप स्टेज उक्लिन्छन्– तालीको आवाज बढ्छ । घण्टौसम्म उनी मनछुने गजलहरु पोखिरहन्छन् ।
शिक्षण पेशामा दिनभर व्यस्त रहेपनि प्रदीपले अध्यँरा रातहरुमा गजलहरुमा प्राण भर्छन् । विहानी सूर्यका किरणसँगै गजलहरु हुर्काउँछन् । दार्जिलिङ, दुवईमा पनि उनी गजल बोकेर पुगिसकेका छन् । प्रदीप रोदनको गजलवाचन शैली, गजलका संरचनाले धेरै युवापुस्तालाई छोएको छ ।
कसैले चिन्दैनन्, यो पिर लाग्दैन मलाई
मुख छोप्न नपरोस्, कसैले चिन्छ भनेर