स्थानीय परिकारलाई विशेष प्राथमिकता दिँदै भरतपुरमा ’दारी बा’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१० स्थित सप्तगण्डकी क्याम्पस नजिकै इन्द्रेणी टोलमा खुलेको यो रेष्टुरेन्टले चितवन आउने पर्यटक तथा स्थानीय ग्राहकहरुलाई लक्षित गरेको छ ।एक विशेष समारोहका बीच समाजसेवी धनञ्जय शर्मा र भरत दाहालले संयुक्त रुपमा रेष्टुरेन्टको समुद्घाटन गर्नुभएको हो ।
रेष्टुरेन्टका सञ्चालक राखी भुजेलले चितवनमै एक फरक ब्राण्ड स्थापित गर्ने उद्देश्यले रेष्टुरेन्ट सुरु गरेको बताउनुभयो ।सञ्चालक भुजेलका अनुसार, त्यहाँ ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखिएको छ भने खाना तथा पेय पदार्थको मूल्य अत्यन्तै न्यून निर्धारण गरिएको छ ।“चितवन आउने जो कोही ग्राहकका लागि हाम्रो रेष्टुरेन्ट विशेष हुनेछ,“ उहाँले भन्नुभयो, “हामीले स्थानीय स्वादलाई जीवन्त राख्दै ग्राहकलाई पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेका छौं ।“
ग्राहकको सुविधालाई ध्यानमा राख्दै रेष्टुरेन्टमा एसी कोठा, निःशुल्क इन्टरनेट, धुम्रपान क्षेत्र, सुन्दर बगैंचा र छुट्टै पारिवारिक क्याबिनको व्यवस्था गरिएको छ ।करिब ६० जनासम्म ग्राहक क्षमता रहेको यस रेष्टुरेन्टले पारिवारिक जमघट, जन्मदिन तथा अन्य साना कार्यक्रमहरुका लागि पनि उपयुक्त स्थान हुने विश्वास लिइएको छ ।स्थानीय परिकारको स्वाद लिन चाहनेहरुका लागि ’दारी बा’ रेष्टुरेन्ट एक उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।