चितवनका गायक नारान पौडेलको स्वर र अभिनय रहेको तीज गीत ‘पञ्चमी’ सार्वजनिक भएको छ ।बिक्रमबाबु विश्वकर्मा र विमल कौशलको शब्दमा शान्तारानी परियार‚ सुनितामी परियार‚ लक्ष्मण सेन्चुरी‚ सीमादेवी सरु र सिताराम घिमिरेको स्वरले भरिएको गीत हालै सार्वजनिक भएको हो ।गीतमा लक्ष्मण सेन्चुरीको संगीत र शिव कनौजेको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गोविन्द थापा, हरि पाठक, आरडी राउत, नारान पौडेल, लक्ष्मण सेन्चुरी, पूजा कार्की, दिक्षा कार्की, अनु खड्का र गंगा ढकालको अभिनय देख्न सकिन्छ।लोकधुनमा आधारित गीतले हिन्दू महिलाहरूले तीजको अवसरमा गर्ने पूजा, व्रत र सांस्कृतिक उत्सवको माहोललाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। भिडियोमा परम्परागत पहिरन, नृत्य र तीजको रमाइलो दृश्यसहित गाउँघरको परिवेश, मन्दिर दर्शन, झिलिमिली सजावट र महिलाहरूको सामूहिक नृत्यलाई आकर्षक ढङ्गले उतारिएको छ।
आधुनिक वाद्य र परम्परागत धुनको मिश्रणले सजिएको गीतमा शब्दमार्फत धार्मिक आस्था र पारिवारिक एकताको सन्देश दिन खोजिएको छ। गायक नारान पौडेलले गीतले नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।भिडियोलाई सन्तोष सुनारले निर्देशन गरेका छन् भने छायांकन शिव सुनारले गरेका हुन्। धुन्डीराज कोइरालाको सहनिर्देशनमा सन्तोष सुनारकै रंग संयोजन र सम्पादनमा भिडियो तयार गरिएको हो।