ऋण तिर्नुपर्छ । ऋण तिदैनौँ भन्ने छुट कसैलाई छैन । बैंक तथा वित्तिय संस्थाहरु चाहिन्छन् । तर, वेथितिहरु रोकिनुपर्छ । तर, ऋणको व्याज हद हुनुहुदैन । ऋणको चपेटामा परेकाहरु यतिबेला झापाली कमरेड दुर्गा प्रसाईको आन्दोलनमा होमिएका छन् । प्रसाईले ऋणमुक्त गरिदिनेछन्, आयआर्जनको बाटो देखाइदिनेछन् भन्ने आशा लिएर जनताहरु सडकमा आएका छन् । फागुन १ देखि पूर्वराजालाई साक्षी राखेर राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान चलाएका थिए । अब दोस्रो चरणका आन्दोलन चलाउँदै छन् । कमाउन देउ, कमाउने वातावरण देउ, ऋण तिर्न रुन नपरोस् भन्ने सोच सबैमा छ । जनताका आर्थिक एजेण्डामा हिन्दुत्व, राजतन्त्रलाई मिसाएर महाअभियान चलाएका छन् ।
प्रसाईले भनिरहेका छन्– नारा, जुलुस गर्न संविधानले रोक्दैन, बैंक लुट्न गएको छैन, बन्दुक बोकेर हिडेको होइन । प्रसाईले उचालेको आर्थिक एजेण्डालाई ठुला उद्योगी, व्यवसायीहरुले पत्तयाएका छैनन् । ठुृला उद्योगी, व्यवसायीहरु पनि आर्थिक समस्यामै छन् । तर, प्रसाईले जनतालाई सडकमा ल्याउन सफल बनिरहेका छन् । सरकारले प्रसाईको गतिविधिलाई निगरानी गरेको छ । कालोमोसो दस्ताका नाममा बैंक तथा वित्तिय संस्थाका कर्मचारीप्रति आक्रमण, बैंकमै लुटपाट जस्ता घटनाहरु हुन थाले । प्रसाईले भन्न थाले–कालोमोसो दस्ता दर्ता छैन । रोजगारीका लागि विदेशीनुपरेका पीडा सुनाउँदै हिडेका छन् । दोस्रो चरणका आन्दोलनमा प्रसाईले नेपाल बन्द समेत कार्यक्रम राखेका छन् । कस्ता छन् दुर्गा प्रसाईका आगामी आन्दोलनका कार्यक्रमहरु ।
फागुन २७ दिउसो १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस गर्ने, यस्तै बानेश्वर चोकमा कोणसभा गर्ने भएका छन् । चैत्र १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्मे आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने जस्ता कार्यक्रमहरु राखेका छन् । चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने जस्ता गतिविधिहरु हुदैछन् । प्रसाई भाषणमा भन्दै आउँछन्– मान्छे मारेको छैन, मान्छे बचाएको मान्छे हुँ । दुर्गा प्रसाई संघीयताको विपक्षमा छन्, गणतन्त्रको विपक्षमा छन् । संघीयतालाई सेतो हात्ती भन्छन् । धर्मनिरपेक्षतालाई धर्मप्रतिको प्रहार भन्छन् ।
हिन्दुराष्ट्र, राजतन्त्र एजेण्डामा आर्थिक एजेण्डा मिसाएर हिडेको दुर्गा प्रसाई कति सफल होलान् ? बैंक,वित्तीय सहकारी बिमा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गर्नुपर्ने, २० लाख भन्दा मुनिको ऋण मिनाह हुनुपर्ने जस्ता मागहरु लिएर हिडेका छन् । राजावादीहरुको साथ पाएका प्रसाई पछिल्लो समय राजतन्त्रबारे कम बोल्छन् । महाअभियान चलाउँदा पूर्वराजासँगै उभिएका प्रसाई देश दौडाहामा पूर्वराजपरिवारको साथ नपाएपछि राजतन्त्रप्रति निराश हुदै गएको देखिन्छ । राजतन्त्र जिन्दावादको नारा नलगाउन समेत प्रसाईले भने । राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु प¥यो नि । दुर्गा प्रसाई लचिलो छन् । कतिबेला महाअभियान नछोड्लान् भन्न सकिदैन ।
किनकी कांग्रेस–माओवादी–एमाले हुदै पूर्वराजा ज्ञानेन्द्रको आर्शिवार्द बटुल्न पुगेका प्रसाईको राजनीतिक करियरले विश्लेषण गर्न सकिन्छ । एमाले–माओवादी मिलेर बनेको तत्कालिन नेकपा छँदा भक्तपुरस्थित आफ्नो बंगलामा केपी शर्मा ओली र प्रचण्डलाई मार्सीको भात खुवाएपछि एकाएक चर्चामा थिए । दुर्गा प्रसाई माओवादीमा जिम्मेवार विहिन थिए, तर, शिर्ष नेताको किचन क्याविनेटमा पहुँच राख्थे । पछि उनी एमाले बने । केन्द्रीय सदस्यमा मनोनित भए । ओली निकट थिए । पछि एमाले पनि छाडे । दुर्गा प्रसाईको यो महाअभियान राजा जोगाउन हो या जनता जोगाउन की दुर्गा प्रसाईलाईनै जोगाउने आन्दोलन हो ? स्पष्ट हुन जरुरी छ ।