भरतपुर विमानस्थल विस्तार गर्ने चर्चा चलिरहन्छन् । २०१९ मा स्थापना भएको यो विमानस्थल विस्तारको योजनामा अब ‘ब्रेक थ्रु’ हुनेवाला छ । २०७५ देखि विस्तार हुने चर्चा चल्यो । तर, के प्रगती भो पत्तै पाइएन । अब १ हप्ताभित्र गज्जबले अगाडी बढ्ने खबर छ । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भरतपुर महानगरका मेयर रेनु दाहाललाई भरतपुर विमानस्थल विस्तार गर्ने चिन्ताले सताएको ५ वर्ष पुग्यो । पर्यटमन्त्री बोलाउने, छलफल गराउने, फाइल अगाडी बढाउने गर्दागर्दै बल्ल बल्ल विस्तार योजनाले साकार रुप लिन थाल्दैछ । हुन त, यो विमानस्थल विस्तार गर्ने कुरा २०४९ तिर चलेकै थियो । अहिलेका प्रधानमन्त्री प्रचण्डले भरतपुरमा २०७६ भदौ १८ मा भनेका थिए– ‘भरतपुर विमानस्थल दिनप्रतिदिन जोखिमयुक्त भएको महसुस भएको छ, बसेर एकचोटि छलफल गर्न जरुरी छ, विस्तार गर्नैपर्छ ।’
२०७५ साल यतामात्रै ८ जना पर्यटन मन्त्रीहरुसँग विमानस्थलबारे चर्चा चल्यो । सरकार फेरिए, मन्त्रीहरु फेरिए । विस्तारको योजना फेरिएन र रोकिएन पनि । २०७१ मै विमानस्थल नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र मेघौली सार्ने र धावनमार्ग बढाउने सुझाव मन्त्रालयमा पुगेर थन्किएको थियो । २०७५ माघ २८ मा धावनमार्ग १ हजार मिटर बढाउने गरी छलफल पनि चल्यो । तर, विस्तार हुन सकेन । २०७६ असोजमा बनेको विमानस्थल विस्तार र स्तरोन्नतिका लागि बनेको कार्यदलले माघ २३ गते मन्त्रालयमा प्रतिवेदन बुझायो । रेनु नेतृत्वको महानगरले २०७७ असार ३० गते कालिबहादुर गणको व्यारेकलाई नेपाल ट्रष्टको ३२ विघा र घोडा प्रजनन् केन्द्रलाई गणेशधाम नजिकैको ६० विघामा सार्न जग्गा उपलब्ध गराउने सन्देश मन्त्रालय, विभागमा गरायो । संघीय सरकारसँग निरन्तर पहल गरिरह्यो । तर, हात लाग्यो शून्य ।
व्यारेक र प्रजनन् केन्द्र सर्दा बाँकी रहने जग्गामा सेनाको एयर बेस एण्ड लग बेस रहने गरी विभागीय सहमति लिन समन्वय गर्ने निर्णय पनि भयो । ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलमा अहिले मझौला जहाजमात्र उड्छन् । ठुला विमान उढाउन प्रयाप्त धावनमार्गनै छैन । अहिले १ हजार २ सय मिटरको धावनमार्ग छ । ठुला जहाजलाई १ हजार ४ सय मिटर धावनमार्ग चाहिन्छ । बढ्दो शहरीकरण, आसपासका अग्ला संरचनाले विमानस्थल साँघुरिदै गएको छ । स्रोत भन्छ– अब एक हप्तामा भरतपुर विमानस्थल विस्तारको योजनाले मूर्तरुप लिन्छ । मेयर रेनु दाहालको नेतृत्वमा काठ्माण्डौ पुगेको टोलिले प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीलाई भेट ग¥यो । विस्तार योजनाबारे चासो राख्यो । प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्रीलाई भने– ‘भरतपुर विमानस्थल विस्तार छिटो गरौँ ।’
पर्यटनमन्त्री र पर्यटन सचिवलाई युद्धस्तरमा काम गर्न भनियो । पर्यटनमन्त्रीको संयोजकत्वमा बैठक पनि बस्यो । मुख्य सचिव, पर्यटन सचिव, प्रधानसेनापति, नेपाल ट्रष्टका सचिव, अर्थमन्त्रालयका सहसचिव, वन मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव सबैले संयुक्त छलफल गरे । एक अर्को मन्त्रालयका कारण विस्तार योजनामा तगारो नहोस् भनेरै संयुक्त प्रस्ताव बनाउने तयारी पनि चलेको छ । नेपाली सेनाको व्यारेक स्थानान्तरण गर्न १ अर्ब ४० करोड लाग्ने प्रारम्भिक खर्च विश्लेषण छ ।
अब महानगरकै अगुवाईमा विमानस्थल विस्तार गर्ने योजनाले लय समात्दैछ । प्राविधिकहरु भन्छन्– यदि सेनाको व्यारेक सार्न सकिए विमानस्थलको धावनमार्ग कम्तिमा १ हजार ५ सय मिटर पु¥याउन सकिन्छ । ७२ सिटर जहाज चलाउन सकिन्छ । रात्रिकालिन उडान भर्न पनि मिल्छ । तपाई हामी आशाबादी छौँ । सबै तयार भएपछि विस्तारको योजना पहिले जसरी नथन्किएला । वडा नम्बर १ मा रहेको नेपाल ट्रष्टको दियालो बंगला जमिनको ६ विघामा सेनाको व्यारेक र भरतपुर–११ को बसेनी गणेशस्थान नजिकैको सामुदायिक वनको ६० विघामा घोडा प्रजनन् केन्द्र सार्ने योजना पुरा हुने बलियो सम्भावना छ ।