नागार्जुनको खोपीमा बसेका पुर्वराजा ज्ञानेन्द्र शाह एकाएक किन झापा पुगे ? उनले बेला बेला सार्वजनिक अपिल गर्ने गरेका छन् किन ? के उनी राजगद्धीमा फर्किन सम्भव छ ? आउनुस् केहि तथ्यका कुरा गरौं ।
यो देशमा गणतन्त्र आएपछि अहिलेसम्म के पाईयो त ? राजा फालेपछि जनताका समस्या हल भए ? एउटा राजा फालेर धेरै राजा जन्माउन गणतन्त्र ल्याएको हो ? अब फेरि यीनीहरुलाई फालेर गल्ती सुधार गर्दै राजा नै फर्काउने हो ? चर्चा यो पनि छ, देश धेरै संकटमा छ, परिस्थिति जे पनि हुन सक्छ ।
भ्रष्टाचार, अनियमिततता बढेको छ, देश अब कसैको नियन्त्रणमा छैन, जसलाई जे मन लाग्यो त्यहिं गरेका छन् । अहिलेका शासक वर्ग स्वार्थमा केन्द्रित भए । जनतालाई हेरेनन् । त्यसैले त रवि आए । केहि मान्छेहरु यो पनि भन्छन्, रविबाट पनि सबै सम्भव छैन, त्यसो भए के ज्ञानेन्द्र फेरि नेपालको राजा बन्न सम्भव छ ? कि अरु नै विकल्प खोज्नुपर्ने हो ? अझै भनौं राजा ल्याउन कति सम्भव छ ? त्यो सम्भावनालाई ज्ञानेन्द्रले सम्भव तुल्याउन सम्भव छ त ? नेपालीमा एउटा उखान छ, भ्यागुतो जति उफ्रे पनि कुवामै । तर केहि अवसम्भव पनि अपवाद जस्तै सम्भव बनेर आउँछ ।
त्यो सम्भावना तर्फ संकेत गर्दै पुर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाह बेला बेला जुम्रुराउने गर्छन् । उनले केहि मौका कुछर्न र विज्ञप्ती निकाल्छन् र घुमाउरो भाषामा आफु तयार रहेको बताउने गरेका छन् । राजतन्त्र ईतिहास हुन थालिसकेको छ । तर उनले बर्तमान बनाउन चाहेका छन् । आफ्नै कर्तुत र कारणले सत्ताच्यूत भएका पूर्वराजा ज्ञानेन्द्र शाह राजगद्धिमा फर्किन कति सम्भव होला
त्यसको चर्चा गर्नुपुर्व उनका बारेमा केहि जानकारी पनि जानी राखौं ।
उनी नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्।उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक बाहिरिनु परेको थियो। वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाए । पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए।
अब अहिले उनले उठाएका विषयबस्तुमाथी चर्चा गरौं ।
उनले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताए । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यमा भनिएको छ, ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’
राजतन्त्रलाई विश्वको इतिहासले नै अस्वीकार गरिसकेको अवस्था छ । कतिपय देशमा राजतन्त्र भए पनि त्यो राजतन्त्रको संस्थागत प्रतीकका रूपमा मात्र छ । त्यहाँ पहिलेको जस्तो राजतन्त्र छैन । हाम्रो इतिहास पनि त्यस्तै किसिम छ । तैपनी केहि मानिस भन्छ्न, राजतन्त्र फर्किदिए हुन्थ्यो । यो भनाईसग केही पेचिला सवालहरु भने जोडिएका छ्न।
खासमा राजा वा राजतन्त्र भन्दा पनि अहिलेको शासन ब्यवस्था भद्दा र पत्रु भयो। यसले जनतालाई डेलिभरी गरेको सेवाप्रति आममानिसको गुनासो छ। देशमा भ्रष्टाचार बढ्नु, जनताको जीवनस्तर सुधार नहुनु, गरिब र धनीबिचको खाडल बढ्नु, अराजकता बढ्नु, राष्ट्रियता कमजोर हुनु, भीमकाय र खर्चिलो संघिय ब्यवस्था हुनुले मानिसलाई पुरानै ब्यवस्था ठिक होकि भन्ने लागेको हुनसक्छ । मानिसहरुले राजतन्त्र र राजा भन्दा पनि सुशासन, बिकास र पारदर्शिता खोजेका हुन। त्यो भन्दा बढी केही होइन कि ?