भरतपुर । चितवनमा डेंगीको संक्रमण दर विस्तारै घट्न थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार पुस १ गते यता डेंगीका बिरामी कम पहिचान भएका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले चिसो मौसमका कारण डेंगीका बिरामीको चाप विस्तारै घट्न थालेको बताए । “डेंगी फैलाउने एडिस लामखुट्टै कम भैसकेको छैनन्, अहिल्यैनै डेंगी जोखिम हट्यो भन्न मिल्दैन”, उनले भने, “सावधानि अपनाउनुपर्छ, तर गर्मीयामजस्तो धेरै बिरामी पहिचान भएका छैनन् ।”
उनका अनुसार साउन यता हालसम्म १३ हजार ५ सय १० जनाको परीक्षण गर्दा ३ हजार २ सय ९७ जना संक्रमित छन् । जसमध्ये चितवनकै २ हजार २ सय ८७ जना, ठेगाना नखुलेका ३ सय २३ जना, चितवन बाहिरका ६ सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ । हालसम्मको तथ्यांक केलाउँदा भरतपुर महानगरमा १ हजार ६ सय ४१ जना, रत्ननगर नगरपालिकामा २ सय ५७ जना, खैरहनी नगरपालिकामा १ सय ८० जना, राप्ती नगरपालिकामा १ सय जनामा संक्रमण देखिएको छ ।
यस्तै कालिका नगरपालिकामा ५३ जना, माडी नगरपालिकामा ४० जना, इच्छाकामना गाउँपालिकामा १६ जनामा संक्रमण पहिचान भएको छ । मंसिरमा ३ हजार १ सय ९५ संक्रमित रहेकोमा पुस ११ सम्म ६७ जना, पुस २१ सम्म ३० जना थपिएका थिए । डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो । उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने जस्ता समस्याहरु देखा पर्छन् ।
चितवनमा कुन वर्ष कति संक्रमित भेटिए ?
२०७३–७४ मा ६ सय ८७ जना संक्रमितहुदा १ जना, २०७४–७५ मा चितवनमा ५९ जना संक्रमितहुदा १ जनाको निधन भएको थियो । यस्तै २०७५–७६ मा ३१ जना संक्रमित भएका थिए । २०७६–७७ मा ४ हजार ८ सय ३ जना संक्रमितहुदा ३ जनाको निधन भएको थियो ।
यस्तै २०७७–७८ मा २ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । सन् २००४ मा नेपालमा एक जना विदेशी बिरामीको डेंगी भएको पुष्टि भएको थियो ।