काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रण गर्न निर्मम भएर लाग्ने बताएका छन् । जनताले अपेक्षा गरेर आफूहरुलाई मत दिएको उल्लेख गर्दै जनमतअनुसार काम गर्न नसके चरम निराशमा मुलुक जाने उनले बताए ।
उनले कुनैपनि कालखण्डमा भएको भ्रष्टाचारको छानविन गर्न सरकार लाग्ने समेत बताए । आफूले सम्हालको केही कामहरुको सुरुआत भइसकेकाले आम जनताले केही महसुस गरिसकेको बताए । उपप्रधानमन्त्री लामिछानेले संसदले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्ने बताए ।उनले संसदमा प्रतिपक्ष दलले रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘संसद प्रतिपक्षले रचनात्मक रुपमा सुझाव सल्लाह दिन सकेको खण्डमा त्यो खबरदारीलाई आत्मसाथ गर्दै जनताको चाहना अनुरुप काम गर्न सक्छन् । म अपेक्षा गर्छु। प्रतिपक्षी दलले अड्काउने होइन, सघाउने काम गरोस् भन्ने चाहन्छु ।’