काठमाडौं । बाइसे–चौविसे राज्यलाई एकत्रित गरी नेपाल एकिकरण गरेका राजा पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा विगतमा मनाइदै आएको राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिनुपर्ने आवाज चुलिएको छ । तर, सरकारले अहिलेसम्म कुनै निर्णय सार्वजनिक गरिसकेको छैन । २०६२–६३ को राजनीतिक परिवर्तन अगाडी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशव्यापीरुपमा मनाइने गरिन्थ्यो ।
नेपाल एकिकरणमा गरेको योगदानलाई सम्झन राष्ट्रिय एकता दिवस मनाउनुपर्ने माग आएका छन् । पुस २७ मा पृथ्वीनारायण शाह जन्मेका थिए । पुस २७ मा सार्वजनिक विदा दिने कि नदिने बहस चल्न सुरु भएको छ । सत्तारुढ ७ दलभित्रै एकता दिवसका रुपमा विदा दिने नदिने टुंगो छैन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन गरेको छ । राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने भन्दै लविङ अघिल्ला सरकारहुदा समेत गर्दै आइरहेको छ । एकता दिवसका रुपमा सार्वजनिक विदा दिनुपर्ने राप्रपाको पहिलो शर्त छ ।
त्यो भएमामात्रै सरकारमा समावेश हुने उसको अडान छ । तर, प्रधानमन्त्री प्रचण्ड यसबारे केही बोलेका छैनन् । सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले राष्ट्रिय एकता दिवस मनाउनुपर्ने पक्षमा पार्टी रहेको भएपनि यही विषयमा ‘रिजिड’ भएर अडान नलिने बताउँछन् । विदा दिने राम्रो हुने उनको तर्क छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो विषयमा सहमति नभए सरकारमा जानेबारे कुरै अघि नबढ्ने बताउँछन् ।
केही दिनअघि सत्तारुढ दलहरूको एउटा बैठकमा एकता दिवसबारे छलफल भएको थियो । स्रोतका अनुसार उपप्रधानमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले पुस २७ गते सार्वजनिक बिदा दिँदा जनतामा राम्रो सन्देश जाने सुझाव दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले ‘एस’ वा ‘नो’ मा जवाफ दिएनन् ।
प्रचण्डले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेपनि सार्वजनिक विदा दिनेबारे केही बोलेनन् । नेकपा एमालेले पनि एकता दिवसका विषयमा केही बोलेको छैन । एमाले, राप्रपा र रास्वपाले दबाब दिएमा सरकारले एकता दिवसमा सार्वजनिक विदा दिने सम्भावना हुनेछ । यद्यपी राजसंस्थाको पक्षमा उभिएको राप्रपालाई मलजल हुने गरी विदा दिन सत्तारुढ दलहरुनै तयार छैनन् ।