तपाईसँग अहिले केहि सिक्का पैसा छ ? कहाँ छ ? गोजीमा कि दराजमा ? कारोबार गर्दा कसैलाई त्यो सिक्का दिनुभएको छ ? कसैले दियो भने लिनुहोला त ? कहिलेकाहीं त त्यसलाई व्यवस्थापन गर्न पनि झ्याउ लागेको होला ? पकेटमा रहेका बेला बजेर हैरान । भएका पनि कतै कुनातिर फालिदिनु भयो कि ? कहिलेकाही सिक्का खोज्नुभएको छ ? पाउनुभयो ? खोज्न कति सजिलो भयो ? थाहा छ, अहिले पनि यसको प्रयोग भईरहेको छ । झ्न अभाव पो हुन्छ त ? कतिका घरमा कति जतनले बसेका होलान्, पर्समा होलान्, तपाईले त्यसको महत्व बुझ्नुभएको छ ?
आउनुस् सिक्का पैसाका बारेमा केहि महत्व र आवश्यकता जानी राखौं ।
प्राचीनकालमा तौल नापको आधारमा सिक्काको मूल्य निर्धारण हुन्थ्यो । मोहर, डबल, दाम, फुक्का दाम, चुन दाम सिक्काका मापक थिए । अंकबाट मूल्य अंकित सिक्का राजा त्रिभुवनको पालाबाट प्रचलनमा आएको हो । मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका छन् । पुराना सिक्कालाई गहना बनाउन, सजाउन र धार्मिक वा सांस्कृतिक कार्यमा प्रयोग गरिन्छ । हाम्रा सिक्कामा देवीदेवता लगायत चित्र अंकित हुन्छ ।यसले गर्दा धार्मिक आस्था भएकाहरूले पूजाआजामा यसलाई विशेष प्रयोग गर्छन्। त्यस्तै घर वा सामुदायिक मठमन्दिरमै पनि यसै छाडिन्छ ।भारतमा समेत हाम्रा सिक्का पूजाआजामा प्रयोग हुने गरेको छ । श्राद्ध गर्दा पण्डितले सिक्का दानका लागि माग्ने गर्छन् ।
यसबाहेक हाम्रा विभिन्न संस्कृतिमा सिक्काको माला बनाएर लगाउने चलन छ ।दुर्गम पहाडी भेगमा समुदायमा सिक्काको हारी (गहना) बनाएर लाउँछन्। व्यक्तिको ८४ पूजा गर्ने संस्कारमा तुलादान गर्दा पनि धेरै मात्रामा सिक्का चाहिन्छ ।त्यस्तै मूर्तिहरू बनाउन र सिक्काबाट औंठी बनाएर लाउने चलन पनि बढ्दो छ। यस्तै विभिन्न कारणले सिक्काहरू बैंकिङ प्रणालीमा फर्किने गरेका छैनन् । अहिले त उनीहरुले लिन पनि मान्दैनन् ।
हामी बाँचिरहेको डिजिटल युगमा यतिखेर प्रविधि मात्रै नभएर पैसा पनि डिजिटल छ ।बिनाकागज र सिक्का नै आज हामी कारोबार गर्न सक्छौँ । हुन पनि हिजोआज तरकारीदेखि शेयर किनबेच्न सम्म डिजिटल नभइरहन सक्दैनौँ हामी ।सम्भवतः डिजिटल युगको उत्कर्षमा पुग्दै गर्दा कुनै दिन यस्तो पनि नआऊला भन्न सकिन्न, जतिखेर पैसा भौतिक रूपमा हुने छैन ।
सिर्फ पैसाको अस्तित्व हुनेछ । समयको त्यस रोचक घडीमा हुन सक्छ, हामीले प्रयोग गर्दै आएको मुद्रा (सिक्का र कागज) एकादेशको कथा हुनेछ । यस अर्थमा हेर्दा संसारको ‘युनिभर्सल’ भाषा हो पैसा । तर, जुन दिन पैसाको मान्यतामा ह्रास आउँछ, त्यस दिन हरेक मुद्राको नियति हो संग्रहालय । सिक्का फगत एक तामा, सुन या चाँदीको वस्तु मात्रै नभएर इतिहास पनि हो । यसले हाम्रो ईतिहास बोल्छ । इतिहास, सभ्यता र संस्कृतिलाई प्रमाणित गर्ने एउटा महत्त्वपूर्ण पुरातात्त्विक प्रमाण हो, मुद्रा । हुन पनि पैसा मान्छेले बनाएको हो । यो हाम्रो काल्पनिक मान्यतामा मात्रै बाँस बस्छ । जुन दिन हामीले पैसालाई महत्त्व दिन छाड्छौँ, यसको मूल्य बजारमा हुने छैन ।