तपाईको ऋण कति छ ? ककसलाई तिर्नु छ ? के समयमै तिर्नुभयो ? कि ऋण तिर्न नसक्ने गरि समयलाई छल्दै हिड्नु भएको छ । अझै भनौ तपाईसँग ऋण तिर्न अब अरु केहि उपाय नै छैन । सबै उपायहरु सकिए । अहिले धेरैका यस्तै यस्तै समस्याहरु चर्चामा छन् । सापटी दिन कसैसँग नगद समेत छैन । व्यवहार चलाउन धौ धौ भईसक्यो । ऋणको –चक्रमा परेका हरेकजसो घरमा अत्यासलाग्दो कथा छ । यतिसम्म कि गाउँमा ताल्चा लगाएका घर देखियो भने यस्तो अनुमान लगाउन सकिएला– ऋण तिर्न नसकेर घरै छाडेर भागेको अथवा ब्याज असुल्ने कर्मचारीबाट जोगिन लुक्न गएको । विकल्पहरु सकिएपछि मान्छे तनावमा आँउछ । दुविधा पनि हुन्छ अब के गर्ने ? भागेर कहाँ जाने ? अरु बाहाना पनि त छैन ? केहि मान्छेहरु त भागेका पनि छन् । केहिले लाज पचाएका पनि छन् । मुक्तिका लागि केहिले देह त्यागेका पनि छन् ।
बजार मुल्य बढेको छ । खर्च धान्न समेत सकिएको छैन । अहिले यस्ता समस्या किन बढिरहेको होला ? यसको समाधान के होला ? आम्दानी गर्ने बाटो के होला ? ऋण कसरी घटाउन सकिएला ? मान्छेको मनै त हो ? उपायहरु खोजी नै रहन्छ । केहि सरसल्लाहहरु पनि लिन्छ । कतिले चित्त बुझाउदै विस्तारै समस्या समाधान गर्ने गरेका छन् । धैर्यता गुमाएका छैनन् । ठुला ठुला व्यापारीदेखि ससाना किसानसम्मले अहिले यो संकटको सामना गरिरहेका छन् । ऋणको बोझले हिसां पनि बढाईरहेको छ । त्यति मात्रै होईन । अपराध गर्न समेत मान्छे उद्धत छ ।
राज्यको हरेक तहमा यसको समाधानका लागि छलफल भईरहका छन् । यो देश नै ऋणमा डुबेको छ । दुनिँयालाई खर्बौ ऋण तिनुपर्ने नियति छ । अब हामी प्रजाको के कुरा गर्नु ? तर पनि निकास त निकाल्नु नै पर्छ । हामीले यसका लागि केहि उपायहरुको खोजी गरेका छौं । आउनुहोस् के जानी राखौं ।
पहिला, यदि तपाईले ऋण लिनुुभएको छ भने त्यसलाई तिर्न ठूलो आकारको किस्ता चुकाउनुपर्यो भने तपाईको नियमित व्यवहार खलबलिन सक्छ । कुनै महिना त त्यति ठूलो लोनको किस्ता बुुझाउन समेत असंभव हुनसक्छ । यस्तो अवस्थामा तपाईले आफ्नो लोनलाई सानो र तिर्नसक्ने किस्तामा बाँड्नुस् ।
दोस्रो, तपाईले उपभोगका लागि भन्दा लगानीका लागि ऋण लिनुु र ऋण लिएर लगानी नै गर्नु उचित हुन्छ । लगानी गरेपछि तपाईलाई मुनाफा हुनसक्छ, त्यसैबाट तपाईले ब्याज चुकाउन सक्नुुहुन्छ ।
तेस्रो, आम रुपमा ऋण लिएर आफ्नो दैनिक खर्चलाई बढाउने गम्भीर गल्ती गरिरहेका हुन्छौं, यस्तो प्रवृति तपाईमा पनि हाबी भयो भने डुुब्न कुनै बेर लाग्दैन । त्यसकारण, यदि तपाईले ऋण लिनुुभएको छ भने दैनिक खर्च,,,, कम भन्दा कम गर्ने गर्नुहोस् र त्यसलाई व्यवहारमा पालना गर्नुहोस् ।
चौथोमा छ, बैंकसँग सल्लाह गरेर यस्तो व्यवस्था गर्नुहोस् कि ऋणको हरेक महिनाको किस्ता तपाईको तलब आउने खाताबाट सिधैं ऋण तिर्ने खातामा जम्मा होस् । यसले खाताबाट ट्रान्सफर गर्ने बोझ समेत हुँदैन ।
पाचौं, वर्षभरिमा कुनै बेला सोचे भन्दा बढि आम्दानी भयो वा नसोचेकै ठाउँबाट रकम आयो भने आफ्नो खर्च बढाउनभन्दा कर्जा तिर्नतिर प्रयोग गर्नुहोस् । यसबाट भविष्यमा तपाईको बोझ मात्र कम हुँदैन, पछि आउने कठीन समयमा केहि राहत दिन्छ ।
छैटौ उपाय छ, तपाई ठुला व्यवसायीमा पर्नुहुन्छ ? त्यसो भए, लगानी वा तलबका कारण लगातार बढिरहेको आम्दानीको सही व्यवस्थापनका लागि तपाईलाई एक बित्तीय सल्लाहकारको समेत आवश्यकता पर्नसक्छ । बित्तीय सल्लाहकारले तपाईलाई कर छुटको पूरा लाभ उठाउने बिषयमा मात्र सहयोग गर्दैनन्, बरु लगानीका लागि सही विकल्प छनौटमा समेत सहयोग गर्छन् ।
सातौं नम्बरमा छ, ऋणको उपयोग अधिकभन्दा अधिक पैसा कमाउन प्रयोग गर्नुहोस् । त्यसपछि लिएको ऋण तिर्नुहोस् र नाफाबाट बचेको रकमलाई आफ्नो सुरुवाती पूँजीको रुपमा प्रयोग गरी राम्रो विजिनेश थाल्नुहोस् । यदि अगाडि बढ्नका लागि तपाईलाई फेरि ऋणको आवश्यकता पर्यो भने फेरि लिने र त्यसलाई समयमै बुुझाउने समेत सँगै गर्नुपर्छ ।
र अब अन्तिममा यदि तपाईसँगको सम्बन्ध राम्रो छ र बित्तीय रुपमा तपाईको इतिहास क्लियर छ भने अधिक ब्याजदर भएको लोन चुकाउन सस्तो ब्याजदर भएको लोन समेत लिन सकिन्छ । यो पनि ऋणको भार कम गर्ने एउटा विशेष तरिका हो । त्यसैले ऋण घटाउन बेलैमै यस्ता उपाय प्रयोग पो गर्ने हो कि ?