नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक अगाडि अध्यक्ष केपी ओली र निलम्वित नेता माधवकुमार नेपालपक्षीय दोस्रो तहका नेताहरू संवादमा छन्।
गएराति होटल याक एण्ड यतीमा ओली पक्षका नेताहरू सुवासचन्द्र नेम्बाङ, पौडेल र प्रदीपकुमार ज्ञवालीसँगै माधवपक्षीय नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई र गोकर्ण विष्टबीच संवाद भएको थियो।
उनीहरूबीचको संवाद पार्टी एकताको मिलनविन्दु पहिल्याउने विषयमा केन्द्रित रहेको संवादमा सहभागी ओलीपक्षीय एक नेताले बताए।
तर, माधवपक्षीय १२ जना निवर्तमान सांसदलाई कारबाही गर्ने तयारी ओली पक्षको छ। त्यसकै लागि स्थायी कमिटी बैठक आज बस्न लागेको हो। ओली पक्षकै अर्का नेता विशाल भट्टराईले भने कारबाही भन्दा पनि पार्टी एकतामा जोड दिइएको बताए।
‘कतिपय माननीयहरूले ह्वीप उल्लङ्घन जस्ता गम्भीर गल्ती गर्नु भएको छ तर, कारबाहीलाई रोकेर पार्टी एकतातर्फ नै जोड दिनुपर्छ भन्ने छ’, उनले केन्द्रविन्दुसँग भने।
नेता माधवसहित ११ जना सांसदहरू यसअघि नै निलम्बनमा परेका छन्। अध्यक्ष ओलीले साधारण सदस्यतासमेत नरहने गरी उनीहरूलाई हटाएका हुन्।
फेरि, माधव पक्षकै १२ जना निर्वतमान सांसदहरूलाई कारबाहीका लागि यसअघि नै स्पष्टीकरण सोधिएको छ। उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित समर्थन गरेको ओलीले बताउँदै आएका छन्।
स्पष्टीकरण सोधिएका मध्येका एक जना निवर्तमान सांसद भवानीप्रसाद खापुङले कारबाही गरिए पार्टी एकताको सम्भावना अझ टरेर जाने बताए।
उनले पार्टीमा कारबाहीका डण्डा चलाउने, स्वेच्छाचारी ढंगले अगाडि बढ्ने, अराजकता प्रदर्शन ओलीले गरे पनि पार्टीलाई एकताबद्ध बनाउन आफूहरू लागेको बताए।
तर, एकताका लागि पार्टीलाई २०७५ जेठ २ को सांगठनिक संरचनाबाट अगाडि बढाउनु पर्ने ‘बटमलाइन’ रहेको उल्लेख गरेका छन्।
‘पार्टीका दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन लाग्नु भएको छ, हामी पनि लागेका छौं तर, अध्यक्ष ओली बढी स्वेच्छाचारी र कारबाहीको डण्डा चलाउने पक्षमा देखिए’, खापुङले भने, ‘हामीले २८ फागुनमा जबजस्त आफूपक्षीय केन्द्रीय कमिटी बैठक राखेर गरेको निर्णय खारेज गर्दै पार्टीलाई २ जेठ २०७५ बाट अगाडि बढाउनु पर्छ भनेका छौं, त्यही हो पार्टी एकता जोगाउने आधार ।’
सरकारको नेतृत्वसमेत गर्दै आएको एमालेमा गहिरो संकट निम्तिएको छ। सोही कारण पार्टी विभाजनको स्थितिमा छ। एकता जोगाउन पार्टीका दोस्रो तहका नेताहरू बल गरिरहेका छन्।
गत जेठ ७ गते माधव पक्षले संविधानको धारण ७६ (५) अनुसारको वैकल्पिक सरकारका लागि प्रधानमन्त्री पदको उम्मेदवारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहित समर्थन गरेपछि एकतान्मुख एमालेमा फेरि फाटो पर्दै गएको हो।
फाटो टालिएर एकता होला कि नहोला? अहिलेको स्थितिमा भन्न सकिने अवस्था छैन।
प्रकाशित: १८ जेष्ठ २०७८ १०:०३ मंगलबार