भरतपुर, चितवन । नेपाली राजनीति आज एउटा निर्णायक ऐतिहासिक संक्रमणको मोडमा छ। पुराना शक्ति संरचनाहरू भत्किने र नयाँ वैकल्पिक शक्तिहरू संस्थागत हुने क्रम जारी रहँदा एक युवा नेतृत्व वैचारिक स्पष्टताका साथ राजनीतिक मैदानमा देखा परेका छन्— सुरज परियार। चितवनको भरतपुर महानगरपालिका–१६ मा २०५८ कात्तिक १२ गते जन्मिएका परियारको परिचय केवल एक ‘युवा नेता’मा मात्र सीमित छैन। उनी जनयुद्धको रापताप, ब्यारेकको अनुशासन र मार्क्सवादी चेतनाको एउटा बलियो संगमका रूपमा उदायका छन्। ब्यारेकबाट सुरु भएको ‘जीवनको पाठशाला’ धेरैका लागि राजनीतिक पाठशाला विद्यालय वा कलेजका प्राङ्गण बने, तर सुरजका लागि तत्कालीन जनमुक्ति सेना (PLA) का क्याम्प र फर्मेसनहरू नै पहिलो विद्यालय बने।
गौरवपूर्ण क्रान्तिकारी इतिहास बोकेका योद्धा आमा–बुबाको काखमा हुर्किएका उनले औपचारिक शिक्षाभन्दा पहिले जीवनका कठोर तर आवश्यक पाठहरू—अनुशासन, सामूहिकता, त्याग र वर्गीय न्यायको अर्थ सिके। ”आमाबुबाको बलिदानी जीवनले मलाई सानैदेखि एउटा स्पष्ट बोध दियो,” परियार भन्छन्, “राजनीति सत्ता प्राप्तिको खेल मात्र होइन, यो उत्पीडित वर्गको मुक्तिका लागि गरिने सचेत र निरन्तर संघर्ष हो।” अनुभव र सङ्गठनको जग परियारको राजनीतिक यात्रा विद्यार्थी सङ्गठनको एकाइ कमिटीबाट सुरु भएको हो। उनले वडा अध्यक्ष, पार्टी सह–सचिव, महानगर कमिटी सदस्य हुँदै जिल्ला तहसम्मका जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालेका छन्। उनको एउटै मन्त्र छ— “सङ्गठनबिनाको विचार निरर्थक हुन्छ, र विचारबिनाको सङ्गठन दिशाहीन हुन्छ।” मार्क्सवाद–लेनिनवाद–माओवादलाई केवल किताबी सिद्धान्तका रूपमा मात्र नभई, नेपाली समाजको भुइँतहको यथार्थ बुझ्ने माध्यमका रूपमा उनले आत्मसात् गरेका छन्। ’GenZ Red Force’ र पुस्तागत विद्रोह गत भदौ २३ र २४ गते सम्पन्न ‘GenZ’ आन्दोलनले नेपाली राजनीतिमा एउटा नयाँ पुस्तागत चेतनाको विस्फोट गरायो।
त्यही आन्दोलनको जगमा उभिएर परियार अहिले ‘GenZ Red Force Nepal’ को केन्द्रीय सदस्यको रूपमा क्रियाशील छन्। यो सङ्गठनलाई उनी कुनै क्षणिक आक्रोश मात्र ठान्दैनन्। “यो भ्रष्टाचार, दलाल पुँजीवाद र वैचारिक शून्यताका विरुद्ध उभिएको पुस्तागत वैकल्पिक राजनीतिक दर्शन हो,” उनी दाबी गर्छन्। उनी अबको युवा पुस्ता केवल प्रश्न सोध्ने मात्र नभई, समाधानको ‘अल्टरनेटिभ मोडल’ निर्माण गर्न तयार हुनुपर्नेमा जोड दिन्छन्। समाजवादको कठिन तर गौरवपूर्ण यात्रा परियारले अघि सारेका तीन वैचारिक खम्बाहरू स्पष्ट छन्: १. वर्गीय चरित्र: राज्यसत्तालाई श्रमिक र उत्पीडित वर्गको पक्षमा रूपान्तरण गर्ने। २. संरचनात्मक रूपान्तरण: सानातिना सुधारले मात्र समाज चल्दैन, पूर्ण परिवर्तन अनिवार्य छ। ३. वैज्ञानिक समाजवाद: नेपाली वस्तुगत यथार्थबाट जन्मिएको अनिवार्य ऐतिहासिक आवश्यकता। १० वर्षे जनयुद्धको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा बसेर समाजवादको यात्रा तय गर्नु नै आफ्नो पुस्ताको प्रमुख दायित्व भएको उनको ठहर छ। “परिवर्तन सम्भव छ, र त्यो हाम्रै पालामा हुनेछ,” आत्मविश्वासका साथ उनी भन्छन्। चितवनबाट सुरु भएको सुरज परियारको यो वैचारिक यात्राले नेपाली राजनीतिमा नयाँ पुस्ताको ‘लाल चेतना’ कस्तो हुन्छ भन्ने प्रष्ट सङ्केत गरेको छ।