भरतपुरको क्रिकेट रंगशालाको बहस सामाजिक सञ्जालहुदै सदनभित्र छिरेको छ । आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभामा यो विषय चर्को रुपमा उठ्यो । तर, धेरैलाई ख्याल नभएको विषय, माओवादी सांसद ज्ञानु बस्नेतले क्रिकेट रंगशाला निर्माण थालनी गरिनुनै गलत रहेको भाष्य दिइन् । स्मरण रहोस्, यो रंगशाला निर्माणका लागि भरतपुर महानगर मेयर रेनु दाहाल सुरुवाती चरणदेखिनै फ्रन्टलाइनर हुन् । सांसद बस्नेतले सदनमा बोलेको भिडियो क्लिप आफ्नो फेसबुक वालबाट शेयर गरेपछि रेनु दाहालले काउण्टर स्वरुप कमेण्ट गरेकी छन् । अर्को अर्थमा रेनुले आफ्नै पार्टीको, आफ्नै क्षेत्रको, आफ्नै जिल्लाको सांसदका अभिव्यक्तिलाई बुँदागत रुपमा स्पष्ट पार्न सामाजिक सञ्जालमै बाध्य भइन् । सांसद बस्नेतले अतितुच्छ शव्दमा रंगशाला र यससँग जोडिएका आयामहरुलाई अवमूल्यन गरिन् । उनले भनेकी छन्–
रंगशालाको काम बेबारिसे बनेको छ, कृषि विश्वविद्यालयको स्वामित्वमा रहेको २० विघा जग्गामा चर्को बहस र विवादका बीच धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा मागेर निर्माण गर्ने लक्ष्य लिएको, फाउण्डेसनले नसक्ने भनेर हात झिक्दा अलपत्र परेको छ, संघ, प्रदेश र महानगरको ३५ करोड बढी लगानी, यतिमात्रै होइन, नेपाली जनताले छाक कटाएर दिएको करोडौँ रुपैयाँ समेत डुबेको छ । ३ अर्ब ५५ करोड अनुमानित लागत लाग्ने ठुलो परियोजना चन्दाकै भरमा बनाउन दिनुको गम्भीर समिक्षा हुन जरुरी छ । यो परियोजनाको छानविन गरी नेपाल सरकारले स्वामित्व लिएर पुरा गर्नुपर्ने ।
यसमा रेनु दाहालले जग्गामा कुनै विवाद नभएको र जग्गा सट्टाभर्ना भएको स्पष्ट पारिन् । रेनुले सांसद बस्नेतका अभिव्यक्ति गलत भएका बुँदागत रुपमा दाबी गरेकी छन् । ३५ करोड सरकारको बजेट नभई महानगर र प्रदेशको जम्मा ११ करोड लगानी भएको र संघको नभएको बताइन् । बस्नेतको तथ्यांकनै फेल खाएको छ । दुई फरक सदनमा रंगशालाको विषयमा सरकारको ध्यानाकर्षण गराएका एकीकृत समाजवादीका नेता खिमलाल देवकोटा र कांग्रेसकी नेता शान्ती परियारलाई धन्यवाद दिएकी छन् ।
तर, आफ्नै पार्टीको सांसद बस्नेतको अभिव्यक्तिप्रति भने रेनुको खरो रुपमा असन्तुष्टी देखिन्छ । ज्ञानु बस्नेत को हुन् ? युद्धकालिन पृष्ठभूमि भएकी ज्ञानु बस्नेत माओवादी नेता शक्ति बस्नेतकी आफ्नै बहिनी हुन् । माओवादीकै नेता सूर्य सुवेदी पथिककी धर्मपत्नी हुन् । पथिक तत्कालिन नेकपा कालिन समयमा रामबहादुर थापा बादलको विश्वासपात्र थिए । माओवादी फुटेर वैद्य नेतृत्वको नयाँ माओवादीहुदा बादलसँगै थिए ।
बादल गृहमन्त्रीहुदा स्वकीय सचिव भएर काम गरेका थिए । बादल माओवादी छाडेर एमालेमा गएपनि पथिक माओवादीमै आए । पथिक चितवनका स्थानीय भएपनि मेयर दाहालको छायाँमा पर्दै आएका छन् । रेनुको चर्चा चुलिदा पथिकको चितवने राजनीतिमा प्रभावहिन बनेका छन् । पथिककै सल्लाहमा ज्ञानुले सदनबाट रंगशालाबारे अभियान्ता तारा बरालकै झल्को दिने गरी अभिव्यक्ति दिएको माओवादीवृत्तमा चर्चा छ । तर जेहोस् हिसाबकिताव पारदर्शीरुपमा सार्वजनिक हुनुपर्छ । यो रंगशाला बन्नुपर्छ । हामीले बुझेको यत्तिनै हो ।