केहि दिन अघि मात्रै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरु व्यवसायीलाई नचाहिने बताए । उनले एक कार्यक्रममा सार्वजिनक रुपमै भने, ‘बैंकहरुले नाफा मात्रै हेरे, व्यवसायीहरुलाई समस्या परेको बेला झन चर्को ब्याज लिए, अब व्यवसायीहरुले आफै कोष खडा गरेर त्यही कोषबाट लगानी गरौं, बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्न छोडौं ।’उनको यो अभिव्यक्तिले उद्योगी व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाप्रति कति आक्रोशित छन् भन्ने जनाउँछ ।तर, अहिले ती घटनाक्रम र अभिव्यक्तिहरुले अर्कै रुप लिन थालेको छ । कतै ‘नो डिपोजिट’ का अभियान त कतै कालोमोसो दल्ने चर्चा छ । अराजक व्यवसायी दुर्गा प्रसाईको प्रशय र उनको अभिव्यक्तिहरुको लहैलहैमा लागेर देशमा विभिन्न ठाउँमा विभिन्न किसिमका घटनाहरु हुन थालेका छन् ।
जसले बैंकिङ क्षेत्रलाई त्रासपूर्ण वातावरण सिर्जना गरेको छ । बैंकरहरुलाई जहाँ भट्यो त्यही कालोमोसो दल्ने दुर्गा प्रसाईंहरुको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्र त्रासमा छ । प्रसाईंले एउटा अभियान नै चलाएर बैंकको सावाँ ब्याज नतिर्न सबैलाई आव्हान गरिरहेका छन् । उनले सार्वजनिक कार्यक्रममै बैंकरलाई ‘जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्नु’ भन्दै समाज भड्काउने गलत अभिव्यक्ति दिइरहेका छन् । व्यवसायीको आवेग र प्रसाईको सक्रियताले थप ससंकित बनाएको छ ।
गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ ।बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनले भनेका छन्, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं । साथै प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ ।’ जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् । बैंक तथा वित्तीय संस्थाको विरोध गर्दै कैलालीका उद्योगी व्यवसायीहरुले बैंकका शाखा कार्यालयमा धर्ना दिनुका साथै ‘नो डिपोजिट’ अभियान सुरु गरेका छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ ।
पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईँले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेको भन्दै यसले अझ उच्छृंखल गतिविधि बढेको उनीहरूको बुझाई छ । व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनसमेत गरिरहेका छन् । सहकारी क्षेत्रमा पनि लाखौं बचतकर्ता पीडित बनेको एकपछि अर्को समाचार बाहिरिरहेको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजकलाई प्रहरीले नियन्त्रणमा लियो ।चितवन प्रहरीले संयोजक शम्भु थापालाई मंगलबार नियन्त्रणमा लियो । अहिले १ जनालाई मात्र नियन्त्रणमा लिएर सोधुपछ गरिरहेको र थप ‘अनुसन्धान भइरहेको छ, प्रहरीले जनाएको छ ।फागुन १ गते झापाको काँकडभिट्टामा कार्यक्रम आयोजना गरी व्यवसायी दुर्गा प्रसाईंले खुलेआम लघुवित्त र बैंकका कर्मचारीमाथि जाइलाग्ने बताएका थिए । उनले त्यसका लागि झापामा २ सय जना युवाको दस्ता नै तयार पारेका छन् ।
यता नेपाल राष्ट्र बैंकले समेत बैंकको ऋण तिर्दिन भन्न नमिल्ने धारणा राखिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा पनि सर्वसाधारणकै पैसा हुने भएकोले ऋणाीले ऋण तिर्दिन भन्न नमिल्ने राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय देखिएका विभिन्न समस्याको पहिचान तथा समाधानका लागि राष्ट्र बैंकले कार्यदल पनि गठन गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको विद्यमान अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।