काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा सहभागि नहुने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाका सांसदहरुले मतदान नगर्ने भएका हुन् ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय भएको बताए । राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । सत्तागठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र विपक्षी गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राप्रपाबाट १४ जना संघीय र २८ जना प्रदेश सांसद रहेका थिए ।
पार्टीको सिद्धान्त राजसंस्था भएको भन्दै राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको उनले बताए । राजसंस्था एजेण्डा बनाएपनि राप्रपाले पुस १० मा सरकारमै सामेल बनेको थियो । तर, सत्तागठबन्धन फेरबदल भएपछि राप्रपाले सरकार छाडेको थियो । राप्रपा सरकार गठनका बेला एमालेसँग निकट बनेको थियो । एमालेनै सत्ताबाहिर पुगेपछि राप्रपाले सत्ता छाडेको थियो ।