दिनहुँ बलात्कारका घटनाहरु भैरहेका छन् । कतिबेला को पर्छ, डरै डर छ । बलात्कार एउटा कामुक विचलन हो । अपराध हो । बलात्कारीलाई सजाय दिनुपर्छ, उम्कन दिनुहुदैन । बलात्कारजन्य घटनाबाट कसरी बच्ने ? आज चर्चा गर्दैछौँ । सुरुमा तथ्यबारे चर्चा गरौँ । नेपालमा दैनिक ६ वटा बलात्कारका घटना हुने गरेको देखिन्छ ।
प्रहरी प्रधान कार्यालयको पछिल्लो पाँच वर्ष र चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्क केलाउँदा यस्तो भयावह अवस्था देखिन्छ । पछिल्लो ५ वर्षमा १० हजार ७३८ बलात्कारका घटनाको मुद्दा दर्ता भए । यो वर्षको पुस मसान्तसम्म ११ सय १७ बलात्कारका मुद्दा दर्ता भए । बलात्कार अधिकाँस चिनेजानेकै व्यक्तिबाट भएको देखिन्छ । ६५ महिनाका घटनाहरु केलाउँदा ९ हजार ६ सय ६६ जना आफन्ती, चिनजानकै व्यक्तिबाट बलात्कार भएको देखिन्छ । त्यसैले चिनजानकै व्यक्ति, आफन्तीबाट समेत जोगिन आवश्यक छ ।
बलात्कारजन्य घटनाबाट कसरी बच्ने, आउनुहोस्, चर्चा गरौँ ।
हिम्मतिलो बन्नुस्ः तपाई केही काममा व्यस्त हुनुहुन्छ । कोही पुरुष आइपुगे भने तपाईमा नडराउनुस् । शीर नझुकाउन्स् । निर्धक्क बन्नुस् । धेरै लजालु नबन्नुस् । कसैले तपाईसँग घुमाउरा कुराहरु गर्न खोज्छन्, यौन दुव्यैवहार गर्न खोज्छन् भने तत्कालै प्रतिवाद गर्नुस् । अलि कडा बन्नुस्, नरम नहुनुस् ।
पहिरनमा ख्याल गर्नुस्ः तपाईले लगाएका कतिपय पहिरनले गलत स्वभावका व्यक्तिहरु उत्साहित बन्न सक्छन् । सकेसम्म शरिर पुरै ढाकिने पहिरन लगाउनुस् । धेरै साथीहरु उस्तै उस्तै पहिरनमा हुनुहुन्छ भने त्यसले असर नगर्ला । तर, तपाई एक्लै सौखिन पहिरनमा हुनुहुन्छ बढी सतर्क बन्नुस् । उत्ताउलो पहिरन नगर्नुस् ।
मान्छेहरु चिन्नुस्ः मानिसकका स्वभाव उनीहरुका व्यवहार, बोलीबाट पत्ता लाग्छन् । हरेक मानिसलाई शंकाको दृष्टिले हेर्नुस् । जब, धेरै शंका लाग्छ, उ बाट टाडै रहनुस् । अध्ययनहरु भन्छन्– बलात्कारजन्य घटनाहरुमा आफन्त, चिनेजानेककै व्यक्तिबाट धेरै हुन्छन् । त्यसैले घृणित उसको मानसिकता जब तपाईले बुझ्नुहुन्छ । त्यसको कडा प्रतिवाद गरिहाल्नुस् ।
जिस्किन रोक्नुस्ः निकटता देखाउन, माया दर्शाउन तपाईका संवेदनशील अंगहरु छुन खोज्छन् । त्यस्ता प्रवृत्तिका व्यक्तिबाट टाडै रहनुस्, तुरुन्तै प्रतिकार गर्नुस् । चल्ने, जिस्कने बहानामा तपाईलाई छुन खोज्न सक्छन् । तपाई पनि नजिस्किनुस्, जिस्कनेसँगको संगतनै नगर्नुस् । तपाई बोल्दा पनि संयमित भएर बोल्ने गर्नुस् ।
प्रश्नहरु रोक्नुस्ः तपाईप्रति कुदृष्टि भएको पाउनुभयो भने बोल्न नडराउनुस् । उसलाई प्रश्नहरु गर्नुस् । किन पछ्याएको ? के हो पारा भनेर बोल्न नरोकिनुस् । बाटोमा हिड्दा या यात्रा गर्दा कसैले पछ्याएको पाउनुभयो भने नजिकको पसल, घरमा रोकिएर उसलाई कडा स्वरमा प्रश्न गर्नुस् ।
आपतकालिन नम्बर याद गर्नुस्ः कसैले बलात्कारको प्रयास गर्दैछ, तपाईलाई पछ्याइरहेको छ भने तत्कालै खबर गर्दा आइपुग्ने व्यक्ति वा आफन्तीको नम्बरमा कल गर्नुस् । प्रहरीको सहायता माग्नुस् ।
आत्मसुरक्षा तालिम लिनुसः आइलाग्नेलाई छोड्नुहुदैन । तपाईले सिकेका आत्मसुरक्षा तालिम यस्तै बेला काम लाग्छ । कराँते, मार्सल आर्ट यस्तै यस्तै कला सिक्नुस् । जब तपाईलाई कसैले आक्रमण गर्न खोज्छ । सुरुमा आँखामा बाघले झम्टेजस्तो झम्टिनुस् । त्यसपछि तल्लो भाग, कोखा, चिउडोमा प्रहार गर्नुहोस् ।
प्रतिवाद गर्नुस्ः कसैले छोयो, आक्रमण गर्न खोज्यो, वा तपाईलाई समात्न लाग्यो भन्यो तत्कालै ठुलो स्वरमा चिच्याउनुस् । ठुलो आवाज दिने वस्तुहरु बोकेर हिड्नुस् । शंकास्पद ठाउँमा जादै हुनुहुन्छ या जोखिमयुक्त ठाउँमा जादै हुनुहुन्छ भने आक्रमणकारीको आँखामा छर्किने खुर्सानीको धुलो, मरिच जस्ता बस्तुहरु बोकेर हिड्नुस् । प्रयास गर्ने वित्तिकै उसलाई हिर्काएर वा अल्मल्याएर भाग्ने उपायबारे सोचिराख्नुस् ।
मापसेबाट टाडै हुनुस्ः मादक पदार्थ सेवन गर्ने बानी छ भने बानी हटाउनुस् । मापासे गर्नेहरुसँग घुमफिर, एकान्तमा नजानुस् ।
एक्लो भएको जानकारी नदिनुस्ः तपाईमा घरमा एक्लै हुनुहुन्छ, परिवारका अन्य सदस्यहरु छैनन् भने म घरमा एक्लै छु, आइएम एलोन भनेर सामाजिक सञ्जालमा नराख्नुस्, चोर पनि आउन सक्छन्, अपराधिक सोचमा मान्छेहरु आउन पनि सक्छन् । घरमा चुकक वा ढोका लगाउने गर्नुस् । कोही आएर ढोका खोल्न भन्दैछ भने पहिचान गरेरमात्रै उसलाई भित्रिन दिनुस, सकेसम्म त्यो मान्छेलाई बैठक कोठाभन्दा भित्र जान नदिनुस्, धेरै बेर उसँग नबस्नुस, आफ्नो व्यस्तता देखाएर टाडिनुस् । हिड्दा एक्लै हुनुहुन्छ भने बेलाबेलामा फोनमा बोल्ने गर्नुस्, मोबाइल चलाउनुस् ।
नजिकको साथीलाई कुरा सेयर गर्नुस्ः तपाईसँग कोही व्यक्तिले नराम्रो नियत राखेको छ, तपाईलाई दुव्र्यवहार गर्ने प्रयास गर्दैछ भन्ने जानकारी पाउनुभयो वा संकेत देख्नुभयो भने नजिकको साथीलाई सेयर गर्नुस्, आफ्ना अभिभावकलाई भन्न पछि नपर्नुस् ।