बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को यही माघ १६ गते चीनको राजकीय भ्रमण गर्ने भएका छन्। राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार तीनदिने राजकीय भ्रमणका क्रममा उनले आफ्ना समकक्षी सीसँग भेटवार्ता गर्नेछन्।
राष्ट्रपति लुकासेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी रहेका छन्। उनले युक्रेनमा मस्कोको आक्रमणलाई समर्थन गरेका छन्। बेलारुस आर्थिक र राजनीतिक रूपमा आफ्नो छिमेकीमा निर्भर छ। चीनका विदेश मन्त्री छिन गङले आफ्ना बेलारूसी समकक्षी सर्गेई अलेनिकलाई शुक्रबार टेलिफोन गरेर बेइजिङले मिन्स्कसँग पारस्परिक राजनीतिक विश्वासलाई अझ प्रगाढ बनाउन चीन इच्छुक रहेको बताएको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
‘चीनले बेलारुसको राष्ट्रिय स्थायित्व कायम राख्न सहयोग गर्न जारी राख्नेछ, बाह्य शक्तिहरू उसको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा मिन्स्कमा गैरकानुनी एवम् एकपक्षीय प्रतिबन्ध लगाउने प्रयासको विरोध गर्ने’ वार्ताका क्रममा चिनियाँ विदेशमन्त्रीले आफ्ना समकक्षी अलेनिकलाई बताएका थिए। गत वर्षको सेप्टेम्बरमा राष्ट्रपतिद्वयबीच उज्बेक शहर समरकन्दमा भेटवार्ता भएको थियो। त्यसबेला उनीहरूले पारस्परिक सहयोग एवम् रणनीतिक साझेदारीको घोषणा गरेका थिए।
युक्रेन र रुससँग सीमा जोडिएको बेलारुसले गत वर्ष युक्रेनमाथि आक्रमण गर्न मस्कोलाई आफ्नो भूमि प्रयोग गर्न अनुमति दिएको थियो। बेलारुसले मस्कोको युद्ध प्रयासमा फेरि सहयोग गर्न सक्ने किएभले चिन्ता व्यक्त गरेको छ। युक्रेन युद्धबारे शुक्रबार चिनियाँ विदेश मन्त्रालयले १२ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै युक्रेन सङ्कट समाधानका निम्ति तत्काल शान्तिवार्ता थालिनुपर्नेमा जोड दिएको थियो। बेइजिङले शान्ति वार्ताको थालनी तथा क्षेत्रीय सार्वभौमसत्ताको सम्मान गर्न युद्धरत पक्षलाई आह्वान गरेको छ। त्यसनिम्ति अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो भूमिका निर्वाह गर्न आह्वान गर्दै चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
चीनले युक्रेन युद्ध अन्त्य गर्ने प्रस्ताव सार्वजनिक गरेपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने योजनामा आफू रहेको बताएका छन्। यद्यपि चीनले यस सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन। आफ्नो भूमिमाथि रुसी आक्रमणको वार्षिकीका सन्दर्भमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले प्रस्तुत प्रस्तावबाट चीन शान्तिको खोजीमा रहेको सङ्केत गरेको बताए। राष्ट्रपति जेलेन्स्कीले रुसलाई चीनले हतियार उपलब्ध गराउँदैन भन्नेमा आफू विश्वस्त हुन चाहेको पनि बताए। चिनियाँ प्रस्तावले शान्तिवार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेको उनले उल्लेख गरे। चिनियाँ प्रस्तावमा रुसी सेना युक्रेनबाट फर्किनुपर्ने विषय समेटिएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि चिनियाँ प्रस्ताव सकारात्मक रहेको उल्लेख गर्दै बेइजिङले मस्कोलाई हातहतियार सहयोग गर्छभन्ने आफूलाई नलागेको बताएका छन्। प्रस्तावबारे एबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै उनले त्यसो भनेका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि चिनियाँ प्रस्तावको प्रशंसा गरेका छन्।