एजेन्सी। रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालिरहेको बताएको छ। अमेरिकी राष्ट्रपतिको युक्रेनको आकस्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मंगलबार उनका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो। आज बाडेनले पोल्याण्डको राजधानी वार्सामा युक्रेन युद्धलाई लिएर मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ। ‘स्वाभाविक रूपमा हामीले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई नजिकबाट नियालिरहेका छौं, आज पोल्याण्डमा के हुन्छ भन्नेमा पनि हामी उत्सुक छौं, त्यसलाई नजिकबाट नियालिरहेका छौं,’ युक्रेनलाई हतियार आपूर्ति गर्ने अमेरिका र उसका सहयोगीको चाल बुझिरहेको उल्लेख गर्दै क्रेमलिनका दिमित्री पेस्कोभले रूसी टेलिभिजनमा भनेका छन्।
यसअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध रुसले अपराध गरेकाले उसलाई दण्ड दिनुपर्ने बताएकी थिइन्। रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उपराष्ट्रपतिले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गरेकी थिइन्। रुसी सेनाले युक्रेनमा युद्ध अपराध गरेको र अपराधीहरूलाई आफ्ना सहयोगीसँग मिलेर कारबाही गर्ने वाइडेन प्रशासनले गत मार्चमा औपचारिक रूपमा बताएको थियो। रुसी अधिकारीहरूले युक्रेनबाट बालबालिकासहित हजारौं मानिसलाई जबरजस्ती निर्वासनमा जान बाध्य पारेको, बालबालिकाहरूलाई निर्ममतापूर्वक परिवारबाट अलग गराइएका धेरै प्रमाण अमेरिकासँग रहेको उपराष्ट्रपति ह्यारिसले बताएकी थिइन्।