देशले नयाँ राष्ट्रपति केही दिनमा पाउँदैछ । दलका नेताहरुको दौडधुप बाक्लिएको छ । सत्तागठनबन्धन बन्ने बेला भएको समझदारी भत्किन्छ, या झनै कसिलो बन्छ, यसै भन्न सकिने स्थिति छैन । राजनीति रोचक मोडमा पुगेको छ । एमालेसँग विद्रोह गरेर पार्टी गठन गरेका व्यक्ति माधव नेपाललाई एमाले अध्यक्ष ओलीले राष्ट्रपति बनाउने रणनीति बनाएको चर्चा भैरहेको छ । ओलीको एउटै शर्त छ– एकीकृत समाजवादी एमालेमा समाहित हुनुपर्छ । ओलीले राष्ट्रपतिको कार्ड फालेपछि माधव पनि हौसिएका छन् । उनले विगत भुल्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग माधवले भेटघाट बढाएका छन् । माधव राष्ट्रपति बन्न तयार छन् ।
तर, एमालेमै पार्टी बिलाएर वा कांग्रेसको सपना चकनाचुर पारेर राष्ट्रपति बन्ने उनी दोधारमा छन् । एमालेको साथ दिन लाग्दा माओवादीले पनि साथ दिनुपर्छ भन्न थालेका छन् । एमाले स्रोतका अनुसार ओलीले माधव नेपाल वा झलनाथ खनालमध्ये एक जनालाई राष्टपतिको उम्मेदवार बनाउने तयारीमा छन् । माओवादीले एमालेका उम्मेदवारलाई राष्ट्रपति दिन नसकिने सन्देश दिएपछि ओलीले फरक खेल चाल्न लागेका हुन् । एकीकृत समाजवादीभित्र सांसद किसान श्रेष्ठ, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्रीसहितका नेताहरू पार्टी एकताको पक्षमा छन् ।
पुस १० मा प्रधानन्त्री माओवादीलाई, राष्ट्रपति एमालेलाई बनाउने चर्चा थियो । माओवादीबाट प्रचण्ड प्रधानमन्त्री बने । तर, माओवादीले राष्ट्रपति चयनमा राष्ट्रिय सहमतिको नारा लगायो । माओवादीको पदाधिकारी बैठकले एमालेको सिफारिस मान्न बाध्य नहुने सन्देश ओलीलाई दियो । पहिलो दल बनेर सत्तामा बस्न नपाएर छटपटिएको कांग्रेसमा उत्साह आयो । तर, कांग्रेस नेताहरु ओलीको नयाँ कार्ड देखेपछि अचम्मित छन्, सशंकित छन् । ओलीले एमालेकै तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र जित्ने दाबी गर्न छाडेका छैनन् ।
तर, माओवादी बैठकका निर्णयहरु अपेडट गर्दै रणनीति बदल्ने दाउमा लागेका छन् । कांग्रेसले माओवादीलाई प्रधानमन्त्री दिन नसकिने अडान राख्दा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सपना सिद्धिएको तर्क गर्दै उल्टै एमालेकै समर्थनमा प्रधानमन्त्री बनाउन सघाएर कुटिल चाल चालेका थिए । जब राष्ट्रपति पदमा तगारोहरु देखिन थाले, ओली बालुवाटार बढी धाउन थाले । बालकोट जाने बानी परेका प्रचण्ड बालुवाटारमा सिमित बने । ओलीले पु्स १० प्रचण्डलाई सम्झाइरहेका छन् । एमालेकै नेतालाई राष्ट्रपति बनाउन दबाब दिइरहेका छन् । ओलीले केही व्यक्तिलाई भावि राष्ट्रपतिका रुपमा उभ्याएका छन् । संविधान सभाको समयमा सबै राजनीतिक दलहरुको विश्वास जितेका सुवास नेम्वाङलाई अगाडी सारेका छन् । माओवादी केन्द्रले ‘संविधानको रक्षार्थ’ भन्दै आएकाले कानुनका जानकार नेम्वाङलाई माओवादीले साथ दिन्छ भन्ने आशा एमालेको छ ।
नेम्वाङ नभए एमालेले माधव नेपाललाई अगाडि सार्ने चर्चा छन् । चुनावी गठबन्धनमा एकै ठाउँमा उभिएको कांग्रेस पनि माधवको पक्षमा उभिने एमालेको विश्लेष्ण छ । माधव नेपाल राष्ट्रपति बनेमा पार्टी एकीकरण नभएपछि एकीकृत समाजवादीका बलिया नेताहरुलाई एमालेमै फर्काउने दाउ एमालेको छ । माधव तयार नभएमा डाक्टर बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउने चर्चा पनि छन् । प्रचण्डले बाबुरामलाई स्विकार्न सहज हुने तर्क भएका छन् । एमाले जसरी पनि कांग्रेसको हातमा राष्ट्रपति पद नजाओस् भनेर चनाखो भैरहेको छ । लोसपाका महन्थ ठाकुरलाई पनि राष्ट्रपति मान्न एमाले तयार छ । कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ ।
पुस २६ गते विश्वासको मत दिएपछि कांग्रेसले माओवादीको साथ पाउने आशा राख्दै आइरहेको छ । प्रचण्ड कांग्रेस–एमालेलाई भिडाएर आँफु अनुकुल व्यक्तिलाई राष्ट्रपति बनाउने दाउमा छन् । एमाले, माओवादी गठबन्धन जोगाउन चाहन्छन् । गठबन्धन भत्किँदा राष्ट्रपति मात्र होइन, संघीय सरकार र प्रदेश सरकारबाट पनि बाहिरिनुपर्ने त्रास एमालेमा छ । कांग्रेसपनि एमालेलाई सत्ताबाट अलग्याएर सत्तामा डुबुल्की मार्ने सोचमा छ । राष्ट्रपति चयन यही फागुन २५ गते हुदैछ । १३ गते मनोनयन हुनेछ । राजनीतिक नयाँ कोर्समा पुग्ला या कांग्रेस भित्तमैमा पुग्ला । त्यो हेर्न बाँकी छ । नेपालको राजनीति हो । सोचे, देखेजस्तो हुदैन । खेल रोचक मोडमा पुग्नेवाला छ ।