काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी मुख्यालय पेरिसडाँडामा केही बेरअघि बैठक सुरु भएको हो।बैठकले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको ठोस धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। एमाले लगायतका दलसँग सत्ता साझेदारीमा रहेको भए पनि उसले एमाले इतरको व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रयत्न गरिरहेको छ।
गत पुस १० मा नयाँ सत्ता गठबन्धन बन्दा एमालेलाई राष्ट्रपतिमा सघाउने सहमति भएको र त्यो समझदारीको औचित्य अझै पनि रहेको एमालेका नेताहरुले बताउने गरेका छन्। तर, पदाधिकारी बैठकमा सहभागी हुनुअघि माओवादी केन्द्रका महासचिव देव गुरुङले त्यो विषयलाई मान्नुपर्ने बाध्यता नरहेको आशयमा अभिव्यक्ति दिएका छन्। आजको पदाधिकारी बैठकमा प्रधानमन्त्रीको भूमिकालाई प्रभावकारी बनाउने र स्ववियु निर्वाचनका सन्दर्भमा पनि छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव हरिबोल गजुरेलले बताए।