आशिष न्यौपाने (पोषणविद् )
काठमाण्डौं । मोटोपन, मधुमेहजस्ता समस्याका कारण अहिले कतिपयले चामलको विकल्पको रूपमा अरू नै खानेकुरा रोज्ने गरेका छन् । तर पनि हाम्रो मुख्य खान्की चामल नै हो, जुन पुस्तौंदेखि हाम्रो भान्सामा पाक्दै आएको छ ।
यद्यपि अहिले चामल खान छाड्नेको संख्या पनि बढ्दो छ । चामल तथा चामलको भातमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । जसले शरीरमा ऊर्जा प्राप्त हुन्छ । चामलको साटो अन्य अन्नको सेवन गरियो भने त शरीरमा नकारात्मक असर गर्दैन । तर कुनै पनि प्रकारको अन्न सेवन नगरेर चामल पनि चटक्कै छोड्दा शरीरमा ऊर्जा प्राप्त नहुन सक्छ । जसले शरीरले आफ्नो काम राम्ररी नगर्न सक्छ । मधुमेह भएका व्यक्तिले चामल खानै हुन्न भनेर चटक्कै छोड्दा उनीहरू कमजोर र पातलो हुने समस्या देखिन सक्छ ।
चामलमा के पाइन्छ ?
अन्न समूहमा पर्ने चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ । साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्त्व पाइन्छ । पोलिस गरेको चामलमा भने यी पोषक तत्त्व नपाइन सक्छ ।
चामलबाहेक कार्बोहाइड्रेटको वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी पनि हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइन्छ ।
चामको विकल्पमा अन्य अन्न मकै, गहुँ, कोदो, फापर अन्न खान सकिन्छ । तर चामलको विकल्पमा बोक्रा फालिएको अन्न रोज्नु भने उत्तम विकल्प होइन ।
चामल छाड्नु कति उचित ?
मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्त्व कार्बोहाइड्रेट चामलमा पाइन्छ । चामल कार्बोहाइड्रेटको मुख्य स्रोतलाई चटक्कै छोड्दा हाम्रो शरीर र मस्तिष्कले राम्ररी काम गर्न सक्दैन । त्यसैले यसलाई छोड्नु उचित हुँदैन ।
चामल खान छोडेर शरीरमा कार्बोहाइड्रेट कम भयो भने शरीरको ‘मेटाबोलिक’ खाना पचाउने प्रक्रिया नै बिग्रिन्छ । जसले शरीरमा अन्य रोग निम्तिने सम्भावना हुन्छ । शरीरमा कार्बोहाइड्रेट कमी भयो भने शरीरमा ऊर्जा कम भएर कमजोर महसुस हुने, ‘हाइपोग्लाइसेमिया’ सुगर लेबल स्वाट्टै घटेर बेहोस हुनेजस्ता प्रतिक्रिया देखिन्छ । (अनलाईनखबरबाट)