विराटनगर । २८ वर्षिया युवतीको हत्या गरेको आरोपमा प्रहरीले विराटनगरमा ३ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा ३ जना पक्राउ परेका हुन् । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरेको छ ।
यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार सोधपुछका लागि अन्य केहीलाई समेत बोलाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको र उमेशको गाडी प्रयोग भएको पाइएको छ ।
प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । शरीरभरि चोटपटक रहेको शव भेटिएपछि नरसिंहमाथि पनि प्रहरीले सोधपुछ गरिरहेको छ । शव व्यवस्थापनका लागि उपयुक्त स्थलको खोजी गर्दै नरसिंहको घरसम्म प्रियंकाको शव लगेको देखिएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेको छ ।