काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ । आज (आइतबार) सार्वजनिक बिदा भएकाले सम्भवतः भोलि (सोमबार) बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गर्ने भएको हो । नेपाल प्रहरीमा चार एआईजीको दरबन्दी रिक्त छ । तर, बढुवा प्रक्रिया अगाडि बढाइएको छैन । प्रहरी नियमावलीमा तीन महिनाभन्दा बढी समय पद रिक्त गर्न नहुने व्यवस्था छ । तर, गएको साउनदेखि एआईजी दरबन्दी रिक्त छ ।
अहिलेका डीआईजीमध्ये एआईजी हुने ब्याचका अधिकारीले नै आउँदो चैतमा प्रहरीको ‘कमान्ड’ सम्हाल्नेछन् । हालका आईजीपी सिंहका ब्याची एआईजी विश्वराज पोखरेलले गएको साउनमै अवकाश पाएका थिए । यस्तै, मुकुन्द आचार्य, अरुण बिसी र रवीन्द्रबहादुर धानुकले उमेरहदका कारण अवकाश पाइसकेका छन् । उनीहरूको स्थानमा अरूलाई बढुवा गरिएको छैन । रिक्त एआईजीका लागि दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन्। अहिले बढुवा हुने ५ एआईजी मध्येबाटै आउँदो चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) बन्ने हुँदा एआईजी बढुवा निकै पेचिलो बनेको हो ।
अहिलेकै अवस्था कायम रहेमा डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ र किरण राणामध्येबाट एकजना आईजीपी बन्नेछन् ।तर, चैत १२ सम्म पनि एआईजीमा बढुवा नभए डीआईजीबाटै एकजना आईजीपी बन्नेछन् । उनीहरु सबै एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।