पटक–पटक नेपाल भ्रमणमा आएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अवस्था नाजुक भएपछि उनले आफ्नो अन्तिम समय परिवारसँग बिताउने भन्दै अस्पतालबाट घर फर्किएका छन्। उनको परिवारले कार्टरको चाहनाअनुसार नै अस्पतालबाट घर ल्याइएको जनाएको छ। उनको घरमा नै आवश्यक उपचार भइरहेको छ।
९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित रहने राष्ट्रपति हुन्। कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए। २००२ मा उनले नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए। कार्टर केही समयदेखि मेलेनोमा नामक बिरामीबाट ग्रस्त रहेका छन्। मेलेनोमा एक प्रकारको स्किन क्यान्सर हो। जुन उनको फोक्सोदेखि दिमागसम्म फैलिएको जनाइएको छ। कार्टरको नाममा रहेको कार्टर सेन्टरले नेपालमा चुनावी पर्यवेक्षणका समयमा नेपाल आएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि कार्टर पहिलो संविधानसभाको निर्वाचनको पर्यवेक्षणका क्रममा नेपाल आएका थिए। २०६४ सालमा तत्कालीन आठ दलको निमन्त्रणामा दीर्घकालीन चुनावी पर्यवेक्षण गर्न भन्दै कार्टर आफै नेपाल आएका थिए।
त्यसअघि पनि कार्टर सगरमाथा क्षेत्रमा पदयात्राका लागि नेपाल आएका थिए। पछिल्लो पटक उनी २०७० मा खिलराज रेग्मीको अध्यक्षतामा भएको मन्त्रिमण्डलका बेला पनि दोस्रो संविधानसभाको चुनावी पर्यवेक्षणका लागि ६ दिने भ्रमणमा नेपाल आएका थिए। उनले नेपालको शान्ति प्रक्रियालाई नजिकबाट नियालेका थिए।