भरतपुर । नायिका सुरक्षा पन्त विवाह बन्धनमा बाँधिने भएकी छन् । उनको विहे चितवनमै हुदैछ । यही फागुन २५ गते चितवनमा विवाह गर्ने तयारी भएको छ । उनको विहे नायक मानव सुवेदीसँग हुन लागेको हो । मानव गायक, निर्देशक तथा अभिनेता हुन् । चितवनमा हुन लागेको विवाहमा दुई पक्षका परिवारका सदस्यहरुको मात्र उपस्थिति हुने जनाइएको छ ।
मानव र सुरक्षा केही केही म्यूजिक भिडियोहरुमा संगै काम गरिसकेका छन् । अन्तरालबाट डेब्यु गरेका मानव नेपथ्य, चिनी कम रङ कडा लगायतका सिनेमा अभिनय गरिसकेका छन् । सुस्केरा सिनेमाबाट डेब्यु गरेकी सुरक्षा गोपी, घर, आमा, के घर के डेरा, धनपति जस्ता सिनेमाहरुमा अभिनय गरिसकेकी छन् ।
उनी बौद्धिक हिरोईनका रुपमा चिनिन्छन् । सुरक्षाले इञ्जिनियरिङ पढेकी हुन् । मानवले अस्कर फिल्म कलेजमा पढेका थिए । मानवले ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ लगायतका गीतमा स्वर दिएका छन् । सुरक्षाको आगामी चैत २४ गते ‘बहाव’ र बैशाख १ गते ‘बुलाकी’ प्रदर्शनमा आउने तयारीमा छ ।