भारतको एयर इन्डियाले ४७० वटा जहाज किन्न अर्डर दिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार युरोपेली जहाज निर्माता कम्पनी एयरबस र अमेरिकी कम्पनी बोइङसँग गरेको सम्झौताबारे मंगलबार जानकारी दिएको हो ।समाचारअनुसार एयर इन्डियाले बोइङसँग ३४ अर्ब डलर बराबरका २२० वटा जहाज किन्ने सम्झौता गरेको छ ।
तीमध्ये १९० वटा ७३७ म्याक्स मोडलका जहाज छन्। २० वटा ७८७ ड्रिमलाइनर्स र १० वटा ७७७ एक्स छन् ।बोइङको इतिहासमा पैसाको हिसाबले यो तेस्रो ठूलो बिक्री हुनेछ भने संख्याका हिसाबले दोस्रो ठूलो बिक्री हुनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै बोइङसँग एयर इन्डियाले गरेको सम्झौतालाई ऐतिहासिक भनेका छन् ।
यो सम्झौताले अमेरिकामा रोजगार सिर्जना गर्न भूमिका निर्वाह गर्ने र अर्थतन्त्रलाई सघाउ पुग्ने उनको विश्वास छ ।एयर इन्डियाले एयर बस कम्पनीसँग पनि २५० जहाज किन्ने सम्झौता गरेको छ । तीमध्ये ४० वटा वाइडबडी ए३५० र २१० वटा न्यारोबडी ए३२० निओ जहाज छन् ।एयरबसले जहाजको मूल्य खुलाएको छैन ।