काठमाडौं । टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ ।
सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टामै दिउँसो गोजियन्तेप क्षेत्रमा अर्को शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपत् एजेन्सीका अनुसार भूकम्पका कारण टर्कीमा मात्रै २९ सयभन्दा बढीको मृत्यु भएको जनाएको छ ।
सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् । टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । भूकम्प जानसक्ने जोखिमयुक्त क्षेत्रको रुपमा संसारकै सबैभन्दा संवेदनशील क्षेत्रको रुपमा टर्की पनि एक हो । जहाँ १९९९ मा शक्तिशाली भूकम्प जाँदा १८ हजार मानिसको मृत्यु भएको थियो ।