भरतपुर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस जसरी पनि सत्ताको लाभ लिने दाउमा रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले ढोक्सा थापेर राजनीतिलाई खिचलो पार्ने काम गरेको आरोप लगाए ।
“बाघ बुढो भएछ, महिलालाई खाइहालेछ, सुनको बाला बच्यो, गुफाबाट बाला लैजाउ भन्दोरहेछ”, कथा सुनाउँदै उनले भने, “फ्याकिदिनु न भन्दा नजिकैबाट दिन मन छ भन्दो रहेछ । साथीहरुले बाला देखाइरहनुभएको छ । तर, सुनको बाला टिप्न जानेवाला कोही छैनन् ।” उनले कांग्रेसले विश्वासको मत दिएर सुनको बाला देखाएपनि त्यो लिन कोही नजाने बताए ।
उनले पुस १० पछिको राजनीति उत्तानो परेर सहमतिय राजनीति चर्चा व्यापक भएपनि सत्तागठबन्धन एकजुट रहेको जीकिर गरेका छन् । उनले कांग्रेस सत्ताबाहिर रहेपछि पानीबाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरे । “नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ”, उनले भने, “राष्ट्रलाई अस्थिरतातर्फ कसैले नधकलौँ । आम नागरिक सचेत भैसकेका छन् ।” उनले कांग्रेस सत्ता लिप्सामा लागेको आरोप लगाए ।