भरतपुर । भरतपुर अस्पतलामा बेहोस बनाउने (एनेस्थेसियोलोजिस्ट) डाक्टर अभाव हुदा शल्यक्रिया गर्न पालो कुर्नुपर्ने भएको छ । बिरामीले शल्यक्रिया गर्न ६ महिना बढी समय पालो कुर्नुपर्ने बाध्यता कायमै रहेको छ । पित्तशैली, हर्नियाका बिरामीले शल्यक्रिया गर्न पालो नपाउने समस्या हटेको छैन । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले शल्यक्रिया कक्ष ७ वटा र सरकारी दरबन्दीका एनेस्थेसियोलोजिस्ट एक जनामात्रै रहेको जानकारी दिए ।
यस्तै अस्पताल विकास समितिका ३ र छात्रवृत्ति करारका ३ जना एनेस्थेसियोलोजिस्ट कार्यरत छन् । अस्पतालमा ४० जना सर्जनहरु भएपनि बेहोस बनाउने डाक्टरहरुकोको ज्यादै न्यून भएकाले बिरामीले समयमै सेवा नपाएको गुनासो आउने गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले शल्यक्रिया कक्षा र एनेस्थेसियोलोजिस्ट डाक्टर संख्या थप्नुपर्ने अवस्था रहेको बताए । आकस्मिकरुपमा शल्यक्रिया गर्नुपर्ने बिरामीले पालो कुर्न नपरेको जीकिर गर्छन् । स्वास्थ्य बीमाका कारण बिरामीको चाप धेरै भएको बताए ।
पछिल्लो ६ महिनामा ७ हजार ४ सय ६५ वटा शल्यक्रियाहरू भएको अस्पतालले जनाएको छ । जसमध्ये ४ हजार २१ मेजर अप्रेशन, २ सय २२ मध्यम, ४ सय ८८ सामान्य, २ हजार ५ सय ८१ सुत्केरीको सामान्य, १ सय ५८ जना सुत्केरीको जटिल अप्रेशन भएको छ । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले सेवा प्रभावकारी बनाउनेबारे पहल भैरहेको बताए । उनका अनुसार कम्तीमा १ हजार ८ जना कर्मचारी आवश्यक रहेका छन् । अप्रेशन गर्न पालो कुर्नुपर्ने बाध्यता हटाउन उपाय खोजि भैरहेको दाबी गरे ।
अस्पतालका एनेस्थेसियोलोजी विभागका प्रमुख डा.प्रदिप अधिकारीले शल्यक्रिया गर्नुपर्ने हरेक बिरामीका लागि कम्तीमा १ जना एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने बताउँछन् । पछिल्लो ६ महिनामा अस्पतालबाट १ लाख ४८ हजार २ सय ३७ जनाले ओपिडी सेवा लिएका थिए । आकस्मिक कक्षमा २७ हजार ९ सय ७८ जना, भर्ना भएका बिरामी १५ हजार ९ सय १६ जना थिए ।