काठमाडौं । बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन् ।
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।उक्त सुविधा दिने÷नदिनेबारे निर्णय अदालतले गर्नेछ। सोही मुद्दाका अर्का अभियुक्त वीरबहादुर चौधरीलाई भने अदालते उक्त सुविधा दिन अस्वीकार गरिसकेको छ । लामो समय फरार रहनुका साथै अदालतमा बयान दिन समेत नआएको भन्दै सुविधा दिन अस्वीकार गरेको हो । यस हिसाबले चौधरीले उक्त सुविधा पाउने सम्भावना कम छ ।
बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर चौधरीलाई काठमाडौंबाट विमानमार्फत् नै धनगढी पु¥याइएको थियो। बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा बसेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई शुक्रबार बिहान कैलाली जिल्ला अदालतमा उपस्थित गराएको थियो।नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । सांसदलाई पक्राउ गर्न सभामुखको अनुमति लिनु पर्ने भए पनि त्यो समेत नलिई उनलाई पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छिन् ।
तर प्रहरीले भने फौजदारी अभियोगका अभियुक्तलाई पक्रन सभामुखको अनुमति लिन नपर्ने व्यवस्था भएकाले आफूहरुले कानुन अनुसार नै उनलाई पक्रेर फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरेको बताएको छ । २०६६ साल भदौ ३ गते कैलालीको चिसापानीस्थित गोरङ्गा खोलाबाट ढुंगा लिएर लम्की फर्किने क्रममा उनीहरूले ट्र्याक्टरमा आगजनी गरेका थिए।