काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि राष्ट्रिय टोलीमा बोलाइएको हो । छनोट समिति संयोजक दीपेन्द्र चौधरीले सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन भनिएको जानकारी दिए ।
राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।
सन्दीप आज त्रिवि मैदानमा पुगेर प्रशिक्षक देसाईलाई भेटेका थिए । सम्भवतः उनी भोलिबाट प्रशिक्षणमा सहभागी हुनेछन् । आज भने बन्द प्रशिक्षण थिएन । सन्दीप केहीबेर मैदानमा अभ्यास गरेर फर्किएका थिए ।
जघन्य फौजदारी अभियोग लागेको र अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा पनि क्यानले उनको निलम्बन फुकुवामात्र गरेन राष्ट्रिय टिममै समावेश गरेको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।