चितवन । भरतपुर महामारीजन्य रोगको जोखिमा रहेको आज यहाँ आयोजित कार्यक्रममा बताईएको छ । भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको “कोभिड १९ लगायत महामारीजन्य रोगहरुको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया” कार्यक्रममा वक्ताहरुले भरतपुर स्वास्थ्य नगरीसँगै महामारीजन्य रोगको जोखिममा रहेको बताएका हुन् ।
कार्यक्रममा महानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख दिपक सुवेदीले केही समयको अन्तरालमा भरतपुरले महामारीको समस्या भोगिरहेको बताउनुभयो । उहाँले कोभिडसँगै डेंगु, स्क्रफटाईफस, औलो, जापानिज इन्सेफलाईटिस जस्ता रोगहरुको जोखिमा पर्ने गरेको बताउनुभयो । महामारी समय तोकेर नआउने भन्दै उहाँले पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले चितवन पहाडको फेदमा र तराईको शुरुवाती विन्दुमा रहेको भन्दै यस्तो भौगोलिक वनाबटमा लामखुट्टेको प्रकोप बढी हुने गरेको बताउनुभयो ।
सुवेदीले भरतपुर महानगर सबै २९ वडामा कुनै न कुनै स्वास्थ्य संस्था रहेको जानकारी दिंदै महानगरका ४० वटा स्वास्थ्य संस्था रहेको जानकारी दिनुभयो । उहाँका अनुसार निजी, प्रादेशिक र संघीय गरी दुई सयभन्दा बढी स्वास्थ्य संस्था भरतपुरमा रहेको बताउनुभयो । भूकम्प, बाढी पहिरो जस्ता विपत्ती भरतपुरमा पनि आउन सक्ने भन्दै त्यसको पूर्व तयारी गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भरतपुरमा ७ लाख १८ हजार ५९ डोज कोभिड खोप लगाईएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो मात्रामा २ लाख ८८ हजार २७६, दोस्रो मात्रा ३ लाख ५ हजार ३८१ र थप मात्रा १ लाख २४ हजार ४०२ डोज लगाईएको बताउनुभयो । कोभिड महामारीले केही पाठ सिकाएको भन्दै कोभिडको समयमा समेत आधारभूत स्वास्थ्य सेवा अविछिन्न रुपमा दिईएको सुवेदीको भनाई छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले संक्रामक रोगहरु, प्रमुख नसर्ने रोगहरु, आमहत्या र सडक दुर्घटनाको निगरानी गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार डेंगु, स्क्रब टाईफस, औलो, जापानिज इन्सेफलाईटिस, मधुमेह, उच्च रक्तचाप, आत्महत्या र सडक दुर्घटनाको नियमित सर्भिलेन्स (निगरानी) गर्ने र सोको मासिक रुपमा प्रतिबेदन तयार गरी सार्वजनिक गरिने बताउनुभयो । आत्महत्या र सडक दुर्घटना बढ्दै गएकाले यिनीहरुलाई पनि निगरानीमा राखिएको उहाँको भनाई छ । महामारी फैलिएको अवस्थामा दैनिक तथ्यांक संकलन, विश्लेषण र सार्वजनिक गर्ने गरिएको छ । उहाँले भन्नुभयो “महामारी नियन्त्रण तथा रोकथामको लागि स्थानीय तह, सरोकारवाला निकाय तथा व्यक्तिहरुसँग समन्वय र सहकार्य गरिने छ ।” आवश्यक औषधि तथा सामग्रीका साथ द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, महामारीजन्य रोग, अन्य विपद पूर्व तयारी, व्यवस्थापनको लागि जिल्लास्तरमा मनसुनजन्य रोगको पूर्व तयारी योजना र आकस्मिक योजना बनाउने उहाँले जानकारी दिनुभयो ।
महामारीको अवस्थामा सोको नियमित प्रतिवेदन, निगरानी, प्रकोपको रोकथाम, नियन्त्रण, बिरामी व्यवस्थापनको लागि स्वास्थ्य कार्यालयबाट स्थानीय तहहरुमा नियमित रुपमा प्राविधिक सहयोग तथा अनुगमन गर्ने गरिएको चापागाईको भनाई छ । महामारी नियमित प्रतिवेदन, रोकथाम, नियन्त्रण सम्बन्धमा डिसिसिएमसि, स्थानीय तह, जिल्ला स्थित सरकारी अस्पताल, मेडिकल कलेज र निजी अस्पतालहरुसँग समन्वय बैठक तथा सहकार्य गरिंदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “महामारीको समयमा स्वास्थ्य कार्यालयबाट दैनिक रुपमा तथ्याड़क संकलन, प्रकाशन तथा साप्ताहिक रुपमा विश्लेषण गर्ने गरिएको छ । ”
कोभिडका कारण हालसम्म चितवनमा ३४ हजार ३९ जना संक्रमित भएको जानकारी दिंदै चापागाईले त्यसमध्ये ४५० जना चितवनवासीको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमध्ये २९० अर्थात् ६४ प्रतिशत पुरुष र १६० अर्थात् ३६ प्रतिशत महिला रहेका छन् । जिल्लाका अस्पतालहरुमा ९७८ जनाको मृत्यु भएकोमा ५२८ जना बाहिरी जिल्लाका हुन् । हालसम्म चितवनमा १२ लाख ४८ हजार ५३६ डोज कोभिड विरुद्धको खोप लगाईएको छ । चापागाईले गत साउनदेखि हालसम्म चितवनमा १३ हजार ६२३ जनाको डेंगु परीक्षण गरिएको बताउँदै त्यसमध्ये ३ हजार ३०९ जनाको संक्रमण पुष्टि भएको बताउनुभयो । ती मध्ये ६ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ हजार २९३ जना चितवनका, ६९३ जना अन्य जिल्लाका र ३२३ जनाको ठेगाना नखुलेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरका स्वास्थ्य विज्ञ फिजिसियन डा.भोजराज अधिकारीले कोभिडलाई नियन्त्रणमा राख्न सकिने बताउँदै नियन्त्रण बाहिर गए महामारीको रुप लिने बताउनुभयो । विश्वमा कोभिडका कारण ६७ लाख मानिसले ज्यान गुमाएको बताउँदै डा. अधिकारीले भन्नुभयो “कोभिडले सबै अंगमा असर गरेको पाईयो ।” शुरुवाती चरणमा श्वासप्रश्वासबाट कि रगतबाट भाईरस हिड्छ भन्ने एकिन नभएर ट्रायलका आधारमा उपचार गरिएको डा. अधिकारीको अनुभव छ ।
कोभिड विरुद्धको खोपले कति काम गर्न भन्ने कसैलाई थाहा नभएको बताउँदै डा. अधिकारीले भन्नुभयो “यसैबाट सिक्ने हो, बुस्टर खोपले कति समय काम गर्छ, कति समयपछि लगाउने भन्ने पनि कसैलाई थाहा छैन ।” स्वास्थ्य क्षेत्रमा राज्यले १० प्रतिशत बजेटट छुट्याउनै पर्ने भन्दै डा. अधिकारीले बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी आँपटारीका इन्स्पेक्टर पूर्णबहादुर तामाङले महामारीमा संगठनले गरेको कार्यहरुबारे प्रकाश पार्नुभयो ।
सो अवसरमा भरतपुर अस्पतालका प्रवक्ता डा.गोविन्द कँडेल, चितवन मेडिकल कलेजका डा. दयाराम लम्साल, कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेजका) डा.प्रेरणा बंशल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत आनन्द न्यौपाने, कालिबहादुर गण भरतपुरका विजयबहादुर दुरा लगायतले कोभिडबाट सिकेका पाठ र आफूहरुले गरेको कार्यहरुबारे बोल्नु भएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलको अध्यक्षतामा भएको थियो ।