भरतपुर । भरतपुर महानगरले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन । योे ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । महानगरपालिकाले न्यूनतम रु १ अर्ब आन्तरिक आम्दानी गर्नुपर्ने कानुनी प्रावधान छ । ६ महिनामा करिब रु ७ करोड मात्र राजश्व संकलन भएको छ ।
मेयर रेनु दाहालले राजश्व संकलनमा कमी आएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९÷०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले चिन्ता व्यक्त गरेकी हुन् । भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तमहानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दानी कमी भए पनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौँका आयोजनाहरू सञ्चालन गर्दै आएको छ ।
महानगरपालिका प्रमुख दाहालले राजस्व सङ्कलनको अवस्था हेर्दा न्यूनतम रु १ अर्ब संकलन हुनेमा समेत आशङ्का व्यक्त गरिन् । भरतपुरको राजस्व सङ्कलनको अवस्था निकै टिठ लाग्दो रहेको उनले बताइन् । करको दायरालाई फराकिलो पार्दै अभियानलाई तीव्र रूपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिइन् । कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन् ।
भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाइने उनको भनाई थियो । अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो । यसैबीच कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफ्नो घरको घरबहाल कर तिरेर अभियानको उद्घाटन गरिएको छ । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गरेकी थिइन् ।