काठमाडौं । बेलायतमा सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदर्शन भएको बताईएको छ ।
प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । साथै, प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।
अलजजिराका अनुसार प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी छन् । उनीहरूले कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरे पनि पास्ता खाएर दिन बिताउनुपर्ने अवस्था रहेको बताएका छन् ।
हड्तालअघि प्रधानमन्त्री कार्यालयले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएको थियो । यद्यपि प्रदर्शनकारीले सरकारको चेतावनीसँग हच्किएनन् ।