भरतपुर । दलहरु यतिबेला राष्ट्रपति–उपराष्ट्रपति उम्मेदवार बनाउने–जिताउने रणनीतिमा व्यस्त छन् । सत्तागठबन्धनका तर्फबाट एमालेबाट, विपक्षीबाट कांग्रेसबाट उम्मेदवार बन्ने छन् । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते निर्वाचन हुने तालिका छ । केही कम्युनिष्ट दलहरु एकीकरणको दौडमा समेत छन् । तर, अब चैत पहिल्यै एकीकरण प्रयासले कुनै निष्कर्ष निकाल्ने देखिदैन । वाम एकता अब राष्ट्रपति–उपराष्ट्रपति चुनावपछिमात्रै हुने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले बाहेकका कम्युनिष्ट शक्तिलाई एक ठाउँमा ल्याएर शक्तिशाली बन्ने सपना बुनिरहेका छन् । त्यसका लागि उनले वाम एकताको अस्त्र फालिरहेका छन् । उनी एकताका लागि पार्टीका नेताहरुलाई लबिङ गर्न भनिरहेका छन् । माओवादीबाट फु्टेका शक्तिलाई जसरी पनि ल्याउने रणनीतिमा छन् । एमालेबाट छुट्टिएको एकीकृत समाजवादीलाई पनि जसरी पनि एकतामा ल्याउने नीति लिएका छन् । यस्तै डा. बाबुराम भट्टराईलाई पनि पुरानै घर ल्याउन लागिपरेका छन् ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्न धेरै छलफलहरु भैसकेका छन् । माओवादीबाट कृष्णबहादुर महरा र नेपाल समाजवादीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा बनेका वार्ता टोलीहरुले अध्ययन तथा छलफल तीव्र पारेका छन् । यी दुई पार्टीबीच एकीकरण गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । तर, निर्णायक विन्दुमा पुग्न चैतनै कुनुपर्ने देखिन्छ । अध्यक्षद्वय प्रचण्ड र बाबुराम भट्टराईबीच छलफल हुन भने बाँकीनैछ । पार्टीको नाममा मोटामोटी समझदारी बनेको छ । नेकपा समाजवादी पार्टी नाम राख्ने चर्चा भैरहेका छन् । एकीकृत समाजवादी, जसपा लगायत अरू दलहरुलाई पनि लक्ष्य लिएर पहिलो चरणमा माओवादी केन्द्र र नेसपाबीच एकता हुने सम्भावना छ । चुनाव चिन्ह के राख्ने भन्नेबारे अझै समझदारी बनिसकेको छैन ।
एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल, जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएर अन्य दलहरुसँग एकताका लागि पहल गरिरहेका छन् । राष्ट्रपति चुनाव लगत्तै एमाले बाहेकका कम्युनिष्टहरु एक ठाउँमा आउने गरी तयारी गरिरहेका छन् ।
आम जनता पार्टी, विप्लव नेतृत्वको नेकपा, धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीसँग पनि एकता गर्ने प्रयास भैरहेका छन् । प्रधानमन्त्रीमा विश्वासको मत लिदा २ सांसद बाहेक सबै सांसद र दलको साथ पाएका प्रचण्ड शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने सोचमा छन् । उनको प्रतिस्पर्धामा खरो उभिरहेको नेकपा एमालेले उनको वाम एकता योजनालाई कति छिया पार्छ त्यो भविष्यले देखाउनेछ । तर, एमाले यतिबेला प्रचण्ड नेतृत्वको सरकारको बलियो सारथी बनिरहेको छ ।