भरतपुर । चितवनमा पहिचान भएकामध्ये अधिकाँस सर्ने (एमबी) प्रकृतिका कुष्ठरोगीहरु रहेका छन् । स्वास्थ्य कार्यालय चितवनले ७० औं विश्व कुष्ठरोग दिवसको सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रमा चितवनमा पछिल्लो १ वर्षमा ५७ जनाले नियमित औषधि लिदै आएका छन् । जसमध्ये आर्थिक वर्ष २०७८÷७९ मा ११ जना नयाँ बिरामी भेटिएका थिए । अघिल्लो वर्ष ४५ जना बिरामीले औषधि लिदै आएका थिए । हाल नियतिम औषधि खानेहरुमा ४९ जनामा सर्ने प्रकृतिको र ८ जनामा नसर्ने प्रकृतिको (पीबी) कुष्ठरोग छ ।
क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीले सर्ने प्रकृतिका बिरामीले १ वर्ष र नसर्ने प्रकृतिका बिरामीका ६ महिना नियमित औषधि खाए रोग निको हुने बताए । “२०५१ सालयता हालसम्म चितवनमा करिब १९ सय जना कुष्ठरोगीको उपचार भएको छ, जसमध्ये ६ सय जना सम्पर्कमा आएका थिए”, उनले भने, “तीमध्ये अधिकाँसमा सर्ने प्रकृतिको कुष्ठरोग थियो, उनीहरुको नजिक रहेका करिब ३० हजार जनालाई एसडीआर औषधि खुवाइएको थियो ।” उनले पहिचान भएका बिरामीमध्ये अधिकाँस अंगभंगहुनबाट जोगिएको बताए । “बेलैमा उपचार भए कुष्ठरोग निको हुन्छ”, उनले भने, “रोग लागेको २ देखि ५ वर्षमा लक्षणहरु देखिन्छन्, तर नियमित औषधि खाए रोग निको हुन्छ ।” नसर्ने प्रकृतिका कुष्ठरोगलाई कम किटाणु भएको र सर्ने प्रकृति भएका कुष्ठरोगलाई बढी किटाणु भएको मानिन्छ । सरकारले नियमित औषधि खाएर औषधिको मात्रा पुरा गर्नेलाई यातायात खर्चका रुपमा १ हजार रुपैयाँ बिरामीलाई दिनेगर्छ । यो औषधि निशुल्क पाइन्छ । घरमै बसेर औषधि खान सकिनेछ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले संसारकै पुरानो रोग भएपनि जनस्वास्थ्य समस्याका रुपमा कायमै रहेको बताए । “घृणा, भेदभाव कम भएपनि पूर्णरुपमा हटेको छैन, यो कुनै श्राप वा पाप लागेर हुने रोग होइन”, उनले भने, “बेलैमा उपचार भए रोग निको हुन्छ, चेकजाँच गर्न हेलचक्रयाई गर्नुभएन ।” भारतमा अधिक कुष्ठरोगी रहेको बताउँदै सीमावर्ती क्षेत्रहरुमा बढी संक्रमित भेटिने गरेको बताए ।
कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म जीवाणु ‘माईकोब्याक्टेरियम लेप्रे’ का कारण लाग्ने गर्छ । यो रोगले विशेषगरि छाला र स्नायुमा असर गर्ने गर्छ । शरिरमा नचिलाउने रातो, फुस्रो दागहरु देखिएमा, हात खुट्टा झमझमाएमा वा स्पर्श शक्ति हराएमा, स्नायुहरु सुन्निएमा वा पीडा भएमा तथा जोनीहरु दुखेमा, कानको लोती बाक्लो भएमा, आँखीभौँहरु झरेमा, शरिरमा दुख्ने–नदुख्ने गीर्खाहरु देखिएमा कुष्ठरोग लागेको हुनसक्छ ।
बिरामीले श्वास फेर्दा वा हाच्छिउँ गर्दा यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । चितवमा हाल नियमित औषधि खादै आएका बिरामी हेर्दा सबैभन्दा धेरै भरतपुर महानगरमा छन् । भरतपुर महानगरमा ३७ जना, राप्तीमा ७ जना, रत्ननगरमा ४ जना, खैरहनी, कालिकामा तीन तीन जना, माडीमा २ जन, इच्छाकामनमा १ जना कुष्ठरोगी रहेका छन् । सरकारले २०६६ सालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर, पहाडी जिल्ला आछाम सहित तराईका १६ जिल्लामा अझै रोग निवारण हुन सकेको छैन । नेपालभर २ हजार ३ सय ७३ जना कुष्ठरोगीहरु रहेका छन् । प्रति १ लाख जनसंख्यामा ८ जना नयाँ बिरामी भेटिने गरेका छन् ।