वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरसफाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयले वीरगञ्जको सरसफाइमा सुधार आएको हो । महानगरपालिकाको कर्मचारीको भरमा परेका भए वीरगञ्जले दुर्गन्धबाट मुक्ती पाउँने थिएन । वीरगञ्ज महानगरपालिकाका तत्कालीन मेयर विजय कुमार सरावगीले सार्वजनिक निजी साझेदारी नीति बनाएर सरसफाइलाई निजी क्षेत्रको जिम्मा लगाएका थिए ।
पृथ्वीतारा एनके इन्टरनेशनल जेवीले २०७६ साउन १ गते देखि लागु हुनेगरी वीरगञ्जको सडक सरसफाइको ठेक्का पाएको थियो । उक्त कम्पनीले अहिले ३ सिफ्टमा गरेर करिव २ सय ५० जना जनशक्ति परिचालन गरेको छ । जाडो मौसम भएकोले विहान ६ देखि १० बजे सम्म, दिउँसो १ देखि ५ बजे सम्म र राती १० देखि १ बजे सम्म सरसफाइको काम भइरहेको सो कम्पनीका निर्देशक शिव गुप्ताले बताए ।
सरसफाइको ठेक्का लिएको कम्पनीले तीन सिफ्टमा सफाईकर्मी सडकमा परिचालन गरेको कारण वीरगञ्ज सुन्दर देखिन थालेको गुप्ताले बताए । घर भित्रको फोहोर तोकिएको समय भन्दा बाहिर सडकमा फ्याक्ने व्यक्तिहरुको प्रवृत्तिमा सुधार नआएसम्म वीरगञ्जलाई पूर्ण रुपमा फोहोर मुक्त शहर बनाउन सकिदैन उनले भने । वीरगञ्ज महानगरपालिकाले पनि सडकम फोहोर फ्याक्नेलाई दण्ड जरिवाना शुरु गरेका छ । एक महिनाको अवधिमा २३ जनालाई कार्वाही गरिएको महानगरका सरसफाइ अधिकृत सरफूर्दीन मियाँले बताए । तोकिएको समय बाहेक अन्य समयमा सडकमा फोहोर फ्याक्नेलाई न्यूनतम ५ सय देखि ५ हजार सम्म जरिवाना गरिएको मियाँले जानकारी दिए ।
दण्डजरीवाना र नगरप्रहरीको निगरानीको कारण अहिले सडकमा फोहोर फ्याक्नेहरुको संख्या निकै कम भएको छ, सरसफाई अधिकृत मियाँले भने, “सडकमा फोहोर जसले राख्छ उसलाई ठाउँको ठाउँ कार्वाही गर्न मेयरले आदेश दिएका छन ।” वीरगञ्जको घण्टाघर देखि विर्ता सम्मको मेनरोडमा विहान सडकमा भएको फोहोर उठाएर लगेको केही समय पछि पसलवालाले फोहोर सडकमा जहाँ पायो त्यहीँ फ्याक्ने चलन थियो । अहिले त्यसलाई निगरानी बढाइएपछि सडकमा फोहोर देखिन छाडेको हो मियाँले भने ।
ट्रि गार्ड रङरोगन
वीरगञ्जको आदर्शनगरमा ट्रि गार्ड रङरोगन तथा रुख काँटछाँट गर्ने कार्य शुरु भएको छ । आदर्शनगरलाई स्वस्थ, हराभरा, सफा सुग्घर बनाउने उद्देश्यले ट्रि गार्ड रङरोगन तथा रुख काँटछाँट गर्न थालिएको हो । आदर्शनगर क्षेत्रको काम सकिएपछि अन्यत्र पनि अभियान सञ्चालन गर्ने वीरगञ्ज महानगर भित्र स्वच्छ, सुन्दर र हरियाली वातारवरण तयार पार्ने जिम्मेवारी पाएका जय प्रकाश खेतानले बताए ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा घण्टाघरदेखि पावरहाउस चोकसम्म रुखमा रंग लगाउने काम पनि सम्पन्न भएको छ । अब रुखमा बत्ती लगाएर आकर्षक बनाउने तयारी भईरहेको उहाँको भनाई छ । त्यसपछि लिंक रोडको सडक डिभाईडरमा रहेका रुखमा रंग लगाउने, विद्युत पोलमा झुण्ड्याईएको विज्ञापन बोर्डहरु हटाउने तयारी समितिले गरेको छ । वीरगञ्ज महानगरलाई धुलोमुक्त बनाउन महानगरले दैनिक रुपमा ५ घण्टा ब्रुमिङ समेत गर्दै आएको छ ।