काठमाडौं । आधारभूत अस्पताल निर्माण कार्यमा ढिलाई भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हरेक पालिकामा आधारभूत अस्पताल बनाउने योजना कार्यान्वयनले गती लिन सकेको छैन । ३ सय ९६ पालिकामध्ये ३ सय ४७ पालिकाले निर्माण सुरु गरेका छन्, तर ४९ पालिकाले निर्माण कार्यनै अगाडी बढाएका छैनन् । सबै पालिकामा ५, १०, १५ शैयाका अस्पताल निर्माण कार्य २ वर्षमा पुरा गर्ने गरी २०७७ मा योजना अगाडी बढाइएको थियो ।
डिपिआरनै नभएका प्रदेशहरुमा प्रदेश १ मा २, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्विनी प्रदेशमा २, कर्णाली प्रदेशमा ८, सुदुरपश्चि प्रदेशमा ३ वटा पालिका रहेका छन् । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्दा तत्कालीन सरकारले अघि सारेको आधारभूत अस्पताल निर्माण कार्यलाई तीव्रता दिइने बताएका थिए । तत्कालिन प्रधानमन्त्री ओलीले २०७७ मंसिरमा एकैसाथ ३ सय ९६ वटा आधारभूत अस्पतालको शिलन्यास गरेका थिए ।
आधारभूत अस्पताल बनाउन अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयलाई दिएको थियो । स्वास्थ्य मन्त्री गिरीले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिन अध्ययन गरिने बताए । ३ सय २७ वटा अस्पतालले डिपिआर तयार पारेपनि ३ सय २५ पालिकाले टेण्डर गरी सम्झौता गरिसकेका छन् । ३ सय २ अस्पतालले निर्माण कार्य सुरु गरेका छन् ।