एजेन्सी । न्युजिल्यान्डमा क्रिस हिपकिन्स नयाँ प्रधानमन्त्री बनेका छन् । ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस प्रधानमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । ज्यासिन्डा गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
सन् २०१७ मा प्रधानमन्त्री निर्वाचित भएकी ज्यासिन्डा विश्वको सबभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी थिइन् । उनी प्रधानमन्त्री हुँदा ३७ वर्षकी थिइन् भने लेबर पार्टीको तेस्रो तहकी नेतृ थिइन् । न्युजिल्यान्डमा आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचन अगावै उनले पदबाट राजीनामा दिएकी हुन् ।नयाँ नियुक्त भएका प्रधानमन्त्री हिपकिन्स यसअघि न्युजिल्यान्डका शिक्षामन्त्री थिए ।