वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले मोबिलको कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेको छ । नक्कली मोबिलको कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगर–३ छपकैयास्थित समसुन ट्रेडर्सका सञ्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज–१७ अलौंका २३ वर्षिय शेष कौशल छन् ।
कलपुर्जालाई चिल्लो बनाइराख्न मोबिलको प्रयोग हुने गर्छ । तर, अवैध रुपमा भण्डारण गरिएको मोबिल प्रहरीले जफत गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित समसुन ट्रेडर्सको गोदममा छापा मारको थियो । पर्साका प्रहरी उपरीक्षक कोमलबिक्रम शाहले ठूलो परिमाणमा नक्कली मोबिल बरामद गरिएको जानकारी दिए ।
नक्कली मोबिल १ हजार ५० लिटर, ब्रेक आयल ४५ डिब्बा, ब्याट्रीको पानी २ ग्यालेन र डिस्टिल वाटर १० लिटर बरामद गरिएको बताए । पक्राउ परेका सञ्चालकद्वय अली र कौशललाई पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर कालोबजारी अन्तर्गतको कसूरमा थप अनुसन्धान भैरहेको बताए ।