काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजबाट सुनवाई सुरु हुदैछ । नागरिकताको विवादमा परेका लामिछानेको मुद्धाको छिनोफानो हुदैछ । संवैधानिक इजलासमा पुगेको मुद्दामा गत पुष २२ गते सांसद पदबाट तत्काल निलम्वन गर्न गरिएको अन्तरिम मागदावी अस्वीकार गरिएको थियो । पूर्ण सुनवाईका लागि पेश गर्न आदेश दिइएको थियो ।
आजबाट पूर्ण सुनवाईपछि बल्ल विवाद निरुपणको टुंगोमा पुग्नेछ । छिटो निरूपण गर्नुपर्ने विषय रहेको भन्दै अग्राधिकार समेत दिइएको थियो । लामिछानेको नागरिकता विवादसँगै नागरिकता त्याग र प्राप्ति तथा नेपाल नागरिकता ऐन, २०६३ मा रहेका प्रावधानबारे संवैधानिक इजलासबाट व्याख्या हुनेछ ।
लामिछानेले अमेरिकाको नागरिकता लिएको र पछि नेपाली नागरिकता लिन कुनै निवेदन नदिएको, अमेरिकाको नागरिकता त्याग गरेको निस्सा नबझुाएकाले नेपाली नागरिकता कायम नरहेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो । लामिछानेले निष्क्रिय भएको पुरानो नेपाली नागरिकता प्रयोग गरेर पार्टी दर्ता, प्रतिनिधिसभा सदस्य उम्मेदवार वनि निर्वाचित भएकाले ती सबै प्रक्रिया र पद खारेज हुनुपर्ने माग सहित सर्वोच्चमा मुद्धा परेको थियो । अधिवक्ता रविराज बसौला र नागरिकका रूपमा युवराज पौडेल लगायतले मुद्धा दिएका थिए ।
गृहमन्त्री लामिछानेको नागरिकता विवादको उजुरीलाई निकै चासोका साथ हेरिएको छ । विदेशको नागरिकता त्याग गरेकाले स्वतः नेपाली नागरिक रहने व्याख्या हुने सम्भावना पनि छ । यस्तै विदेशको नागरिकता त्याग गरेको निस्सा दर्ता नभएकाले नागरिकता कायम नहुने व्याख्या पनि हुन सक्छ । विदेश र नेपालको दुवै नागरिकता प्रयोग गरेकाले दोहोरो नागरिकता प्रयोग गरेकाले फौजदारी कसुरमा अनुसन्धान गरेर कारवाही गर्न आदेश दिने सम्भावना पनि छ ।
वादी पक्षका वकिलहरूले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लाई नै मुख्य विषय बनाई लामिछाने नेपाली नागरिक वा उनले नागरिकता पुनः प्राप्ति नगरेको कारण उनी नेपाली नागरिक नरहेको दाबी गर्नेछन् । प्रतिवादी पक्षका वकिलहरूले भने नेपालमा रहेका कुनै पनि व्यक्ति नागरिकताविहीन रहन नसक्ने र लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेपछि स्वतः नेपाली नागरिक रहने भन्दै लामिछानेको बचाउ गर्नेछन् । पूर्ण सुनुवाइ बुधबार नै सकिने सम्भावना भने ज्यादै न्यून छ । वादी पक्षले धेरै सरकारी संयन्त्रलाई समेत विपक्षी बनाएको कारण धेरै जनाले बहस गर्नुपर्ने अवस्था छ ।